Comments Add Comment

गरिब देशले कहिलेसम्म पाउलान् कोरोना खोप ?

१५ माघ, काठमाडौं । गत नोभेम्बर महिनामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आएपछि विश्वभरका मानिसहरुले खुसीयाली व्यक्त गरे । खोप आएसँगै अब विस्तारै कोरोना महामारी पनि अन्त्य हुने दिशातर्फ उन्मुख हुने धेरैको विश्वास थियो ।

यद्यपि सोचेजस्तो सहजरुपमा कोरोना महामारीको अन्त्य नहुने केही संकेत देखिएको छ । विशेषगरी मुलुकहरुबीचको वर्गीय असमानताको कारण महामारी अझै लामो समयसम्म रहन सक्ने देखिएको छ ।

अहिले धनी मुलुकहरुले लाखौं डोज खोप आफ्ना नागरिकहरुका लागि खरिद गरिसकेका छन् । तर, कम आय भएका मुलुकमा भने निकै कम मात्रामा कोरोना खोप पुगेको छ । अधिकांश कोरोना खोप यसअघि नै धनी मुलुकरुले खरिद गरिसकेकाले गरिब देशको पहुँच खोपमा पुग्न सकेको छैन ।

उदाहरणको लागि क्यानडाले आफ्ना सबै नागरिकलाई पाँचपटक लगाउन पुग्ने गरी खोप खरिद गरेको छ । जबकी अहिले विश्वका धेरै मुलुकहरु भने खोप पाउनका लागि प्रयास गरिरहेका छन् । यस्तोमा अन्य मुलुकहरुको अवस्था के होला ? धनी मुलुकबीच कोरोना खोप भण्डारण गरेर राख्ने होडले धेरै गरिब मुलुक भने कोरोना खोप कार्यक्रमबाट बञ्चित हुने पक्कापक्की छ । यस्तोमा विश्वका लाखौं मानिसहरुले कोरोना खोपको लागि सन् २०२२ सम्म प्रतीक्षा गर्नुपर्ने हुन सक्छ ।

ल्याटिन अमेरिकी देश कोरोनाबाट निकै प्रभावित बने । कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेमध्ये करिब एक चौथाइ ल्याटिन अमेरिकी क्षेत्रका छन् । यो क्षेत्रमा डाक्टर र नर्सहरु पनि नराम्ररी प्रभावित भएका छन् । अहिले त्यस क्षेत्रमा खोप कार्यक्रम त सञ्चालन भइरहेको छ तर गति भने निकै सुस्त छ ।

अर्जेन्टिना, भेनेजुयला र बोलिभियाले रुसको स्पुतनिक भी कोरोना खोपलाई अनुमति दिएका छन् । जबकी यो खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण पनि सकिएको छैन ।

कम आय भएका मुलुकहरु भने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कोभ्याक्स कार्यक्रमको मुख ताकिरहेका छन् । यो कार्यक्रममार्फत् विश्वका कम आय भएका मुलुकहरुमा निःशुल्क दुई अर्ब डोज कोरोना खोप पुर्‍याउने लक्ष्य छ । आगामी फेब्रुअरीबाट उक्त कार्यक्रमअन्तर्गत कोरोना खोप वितरण सुरु हुनेछ । तर, यो कार्यक्रमको लागि आवश्यक पर्ने धेरै खोप पनि खरिद गर्न बाँकी छ र ती खोप कहिलेसम्म आइपुग्छन् भन्ने पनि यकिन छैन ।

त्यसैले कोरोना खोप कार्यक्रम पनि विश्वका देशहरुबीचको असमान दौड बन्न पुगेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले अहिले विश्व ठूलो नैतिक असफलताको संघारमा रहेको प्रतिक्रिया दिइसकेका छन् ।

केही मुलुकहरुले फरक किसिमको रणनीति बनाउँदै कोरोना खोप वितरण सुरु गरिसकेका छन् । जसको एक उदाहरण भारत हो । भारतसँग औषधि तथा खोप उत्पादनको क्षमता ठूलो छ । त्यसैले उसले अन्य मुलुकमा कोरोना खोप निर्यात गर्न सुरु गरेको छ । यद्यपि उसले पनि आफ्ना नागरिकलाई नै पहिलो प्राथमिकतामा राखेर कोरोना खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।

फरक किसिमको रणनीति अपनाउने मुलुक इन्डोनेसिया हो । उसले सबैभन्दा पहिला युवा र काममा जाने मानिसहरुलाई कोरोना खोप दिने योजना ल्याएको छ । जसको उद्देश्य उनीहरुलाई कोरोना खोप दिँदै अन्य मानिसमा यसको संक्रमण हुन नदिनु हो । कोरोना संक्रमण युवाहरुबाटै धेरै सर्ने गरेको पाइएको छ ।

अफ्रिकी युनियनले २७ करोड डोज कोरोना खोपको लागि सम्झौता गरिसकेको छ । यो संख्या ठूलो लागे पनि समग्र जनसंख्याको आधारमा भने यो निकै कम हुन आउँछ । अफ्रिकाको जनसंख्या एक अर्बभन्दा धेरै छ । त्यसैले बाँकी मानिसहरुले कहिले कोरोना खोप पाउँछन् भन्ने थाहा छैन ।

खोप उत्पादन गरिरहेका कम्पनीहरुले अन्य खोप निर्मातालाई कसरी उत्पादन गर्ने भन्ने जानकारी दिए त्यसले विश्वको कोरोना खोपको माग पूरा गर्न केही सहयोग पुग्नेछ । तर, खोप निर्माताहरु यसो गर्न चाहँदैनन् ।

त्यसो त खोप निर्माताहरुले कम आय भएका मुलुकहरुमा कम मूल्यमा कोरोना खोप पुर्‍याउने बताउँदै आएका छन् । तर, सन् २०२२ सम्म कम आय भएका मुलुकले कोरोना खोप पाउने सम्भावना कम देखिएको छ ।

गत बुधबार सार्वजनिक भएको एक अध्ययनले सन् २०२३ अघि कम आय भएका मुलुकमा कोरोना खोप सर्वसुलभ नहुने देखाएको छ । कोरोना महामारीको अन्त्य हुन विश्वका सबै मुलुकमा यो महामारीको अन्त्य हुनु जरुरी छ । कम आय भएका मुलुकले समयमा नै कोरोना खोप पाउन नसके अझै लामो समयसम्म कोरोना भाइरसको महामारी अन्त्य नहुने निश्चितजस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment