Comments Add Comment

बागमती प्रदेशभर पेट्रोल बिक्री रोक्ने पम्प सञ्चालकको चेतावनी

१६ माघ, काठमाडौं । बागमती प्रदेश भित्रका पेट्रोलियम बिक्रेताहरुले आइतबारदेखि पेट्रोल बिक्री नगर्ने चेतावनी दिएका छन् ।

आफूहरुले पाइरहेको जर्ती सुविधा निगमले कटाउन खोजेको भन्दै व्यवसायीहरुले सो चेतावनी दिएका हुन् ।

बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको उल्लेख छ ।

१२ हजार लिटर डिजेल तथा पेट्रोलमा ३० लिटर जर्तीबापत पाइरहेको थप इन्धन सुविधा कटाउन निगम लागेको एशोसिएसनको आरोप छ ।

अनलाइनखबरसँग कुरा गर्दै एशोसिएसनका अध्यक्ष अच्युत खड्काले निगमले जर्ती काट्न लागेकाले व्यवसायीहरुलाई सर्कुलर गरिएको बताए । आफूहरुले व्यहोर्दै आएको नोक्सानीबापत तीन वर्षअघि लडेर प्राप्त गरेको अधिकार निगमले खोस्न नमिल्ने खड्काले बताए । ‘गोपाल खड्काको पालामै हामीले लडेर यो सुविधा पाएका हौं । हामी साँच्चै मारमा छौं, यो सुविधा काटे सशक्त आन्दोलन हुन्छ तर उपभोक्तालाई अप्ठ्यारो पार्ने हाम्रो नियत होइन,’ खड्काले भने ।

नेपाल आयल निगमले भने जर्ती सुविधा नदिनेबारे निर्णय नभइसकेको तर यसको औचित्यबारे अध्ययन थालेको जनाएको छ ।

जर्तीबारे निगमले काठमाडौं विश्वविद्यालय मार्फत अध्ययन गरेको र उक्त सुविधा वैज्ञानिक भएमात्रै दिन सकिने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ‘अध्ययन भइरहेको विषयलाई लिएर व्यवसायीले पेट्रोल नउठाउने तथा उपभोक्तालाई दुःख दिने काम गरे निगमले कारबाही अघि बढाउँछ,’ पौडेलले भने ।

व्यवसायीहरुले आइतबारबाट पेट्रोल नकिन्ने व्यवसायीको घोषणाबारे भने कुनै जानकारी नभएको निगमले जनाएको छ ।

नेपाल आयल निगम बागमती प्रादेशिक डिपो थानकोटका अनुसार प्रदेशभित्र १५० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छन् । बागमती प्रदेशमा दैनिक ६ लाख लिटर पेट्रोल बिक्री हुने गरेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment