Comments Add Comment

जर्मनीमा ६५ वर्षमाथिका मानिसलाई एस्ट्राजेनेकाको खोप नलिन सुझाव

१६ माघ, काठमाडौं । जर्मनीको खोप आयोगले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ६५ वर्षभन्दा माथिको उमेर समूहका मानिसहरुलाई नलगाउन सुझाव दिएको छ । पछिल्लो समय खोप निर्माता र युरोपेली संघ (ईयू)बीच आपूर्तिको विषयलाई लिएर विवाद जारी रहेको अवस्थामा जर्मनीको खोप नियामकले यस्तो सुझाव दिएको हो ।

जर्मनीको मुख्य सार्वजनिक स्वास्थ्य नियमनकारी संस्था रोबर्ट कोच इन्स्टिच्युट (आरकेआई) को द ट्याण्डिङ कमिटी अफ भ्याक्सिनेसन (स्टिको)ले एस्ट्राजेनेका र अक्सफोडको खोपमा उक्त उमेर समूहमा प्रभावकारीताबारे पर्याप्त विवरण नरहेको बताएको छ । जर्मनीको गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा खोपको परीक्षणमा ६५ वर्षभन्दा बढी उमेरका निकै कम मानिस मात्र समावेश गरिएकाले निष्कर्षमा पुग्न नसकिने उल्लेख छ । त्यसैले यो खोप १८ देखि ६४ वर्ष उमेरका मानिसहरुलाई मात्र लगाउन सिफारिस गरिएको छ ।

एक महिनाअघि बेलायतमा यो खोपले अनुमति पाउँदा नियामकले ६५ वा सोभन्दा बढी उमेर समूहमा भने खोपको परीक्षण सीमित भएको बताएको थियो । तर, उक्त उमेर समूहमा पनि यो खोप सुरक्षित नरहेको प्रमाण नभेटिएको नियामकको दाबी थियो । ईयूले एस्ट्राजेनेकाको ३० करोड डोज कोरोना खोपको लागि सम्झौता गरिसकेको छ भने थप १० करोड डोज खरिद गर्न सकिने विकल्प बाँकी राखेको छ । पछिल्लो समय भने एस्ट्राजेनेकाले ईयूको मागअनुसार पहिलो त्रैमासमा कोरोना खोप उपलब्ध गराउन नसकिने बताएको छ ।

अहिले ईयू र एस्ट्राजेनेकाबीच खोप आपूर्तिको विषयलाई लिएर विवाद बढेको छ । एस्ट्राजेनेकाले आफ्नो खोप उत्पादनमा देखिएको समस्याको कारण यसअघि भएको सम्झौताअनुसारको खोप उपलब्ध गराउन नसक्ने बताएको छ । तर, ईयूले यो स्वीकार्य नहुने बताएको छ । ईयूले खोप निर्माताले कुनै पनि हालतमा आपूर्ति बढउनुपर्ने दबाव दिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment