Comments Add Comment

शर्मिला र रश्मिको ह्याट्रिकमा आर्मीको फराकिलो जित

१६ माघ, काठमाडौं । शर्मिला थापा र रश्मि घिसिङको ह्याट्रिक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा शर्मिला थापा र रश्मि घिसिङले ४-४ गोल तथा विमला चौधरी र सपना लामाले  एक/एक गोल गरेका थिए ।

आर्मीले पहिलो हाफमा चार र दोस्रो हाफमा ६ गोल गर्‍यो ।

शर्मिलाले १५औं, ३५औं, ५१औं र ६४औं मिनेटमा गोल गरिन् । यस्तै रश्मिले ५९औं, ६२औं र ६६औं मिनेटमा गोल गर्दै ७ मिनेटमै ह्याट्रिक पूरा गरिन् । उनले ७५औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।

विमलाले खेलको तेस्रो मिनेटमै गोल गरेकी थिइन् भने सपनाले ४५औं मिनेटमा गोल गरिन् ।

जितपछि ४ खेलबाट ७ अंक जोड्दै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चार खेलबाट ३ अंक मात्र रहेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ ।

आर्मीका कप्तान राजु तामाङले चाहिएको समयमा तीन अंक जोड्न सफल भएको बताए । सुरुमै गोल भएकोले सजिलो भएको उनले बताए ।

चन्द्रपुरका सहायक चित्र बहादुर दर्लामीले डिफेन्स कमजोर हुँदा फराकिलो हार व्यहोरेको बताए । उनले विभागीय टिम राम्रो भएको र डिफेन्स कमजोर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment