+

डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिप खेल्ने पहिलो नेपाली गल्फर बन्दै सुवास

२०८३ असोज  २८ गते १३:३४ २०८३ असोज २८ गते १३:३४

सुवासले बिहीबारदेखि भारतमा सुरु हुने डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाली गल्फमा नयाँ इतिहास रच्नेछन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली व्यावसायिक गल्फर सुवास तामाङ बिहीबारदेखि भारतको नयाँदिल्लीमा हुने डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा खेल्ने पहिलो नेपाली खेलाडी बन्दै छन् ।
  • सुवासले रेस टु डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपको वरीयतामा २३औँ स्थान हासिल गर्दै ४० लाख अमेरिकी डलर पुरस्कार राशिको प्रतियोगितामा स्थान पक्का गरेका हुन् ।
  • सुवासले डीपी वर्ल्ड टुरमा खेल्ने पहिलो नेपाली गल्फर बन्न पाउँदा निकै खुसी खुशी लागेको बताएका छन् ।

२८ असोज, काठमाडौं । नेपाली व्यावसायिक गल्फर सुवास तामाङ डीपी वर्ल्ड टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । उनले बिहीबारदेखि भारतमा सुरु हुने डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाली गल्फमा नयाँ इतिहास रच्नेछन् ।

सुवास प्रतिष्ठित डीपी वर्ल्ड टुरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पहिलो गल्फर बन्न लागेका हुन् ।

डीपी वर्ल्ड टुर र डीपी वर्ल्ड प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) को संयुक्त आयोजनामा हुने प्रतियोगिता अक्टोबर १५ देखि १८ सम्म भारतको नयाँदिल्लीस्थित दिल्ली गल्फ क्लबमा सञ्चालन हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ४० लाख अमेरिकी डलर रहेको छ ।

सुवासले कपिल देव इन्भिटेसनल टुर च्याम्पियनसिपपछि रेस टु डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपको वरीयतामा २३औँ स्थान हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेका हुन्  । ग्रेटर नोएडास्थित जेपी ग्रीन्स गल्फ एन्ड स्पा रिसोर्टमा सम्पन्न उक्त प्रतियोगितापछि वरीयताका शीर्ष २४ खेलाडीले च्याम्पियनसिपमा खेल्ने अवसर पाएका थिए ।

सुवासले यस सिजन भारतीय व्यावसायिक गल्फ टुरका १७ प्रतियोगितामा सहभागिता जनाएका छन् । तीमध्ये १४ प्रतियोगितामा कट पार गरेका उनले दुई प्रतियोगितामा शीर्ष १० भित्र स्थान बनाउन सफल भएका छन् । यस सिजन उनले अहिलेसम्म २५ लाख ९३ हजार भारतीय रुपैयाँ पुरस्कार रकम जितेका छन् ।

पीजीटीआईबाट छनोट भएका २४ खेलाडीमध्ये २१ जना भारतीय व्यावसायिक गल्फर छन् । सुवाससँगै बंगलादेशका जमाल होसेन र चेक गणतन्त्रका स्टेपन डानेक पनि प्रतियोगितामा छनोट भएका विदेशी खेलाडी हुन् ।

दिल्ली गल्फ क्लबमा विश्वस्तरीय गल्फरहरूसँग प्रतिस्पर्धा गर्न पाउनुलाई सुवासले ठूलो अवसरका रूपमा लिएका छन् । डीपी वर्ल्ड टुरले सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन्, ‘डीपी वर्ल्ड टुरमा खेल्ने पहिलो नेपाली गल्फर बन्न पाउँदा म निकै खुसी छु । आफ्नो देशको प्रतिनिधित्व गर्दै यहाँ खेल्न पाउनु उत्साहजनक छ ।’

सन् १९७२ देखि सञ्चालन हुँदै आएको डीपी वर्ल्ड टुरमा नेपाल प्रतिनिधित्व हुने १२०औँ राष्ट्र बन्नेछ। यसै सिजन रुवान्डा, बुल्गेरिया र डोमिनिकन रिपब्लिकका गल्फरले पनि पहिलो पटक टुरमा सहभागिता जनाएका छन् ।

सुवासले यसअघि एमेच्योर गल्फमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेका थिए । उनी विश्व एमेच्योर गल्फ वरीयताको शीर्ष १०० मा पुग्ने पहिलो नेपाली गल्फर बनेका थिए । डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा उनको सहभागितालाई नेपाली गल्फको अन्तर्राष्ट्रिय यात्रामा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिप डीपी वर्ल्ड टुर सुवास तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय