News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लायन्सले एनपीएलको तेस्रो सिजनका लागि कप्तान रोहित पौडेलसहित ७ खेलाडी र मुख्य प्रशिक्षक टिनु योहान्नानलाई निरन्तरता दिएको छ।
- लुम्बिनीले अक्सनबाट आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव र अजय चौहानलाई पनि अनुबन्ध गरेको छ।
- दोस्रो सिजनमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले हराएर च्याम्पियन बनेको लुम्बिनीले तेस्रो सिजनमा उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी थालेको छ।
२७ असोज, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) मा त्यस्तो टोली हो जसले सुरुवाती दुई सिजनमै असफलता देखि सफलतासम्म दुवै प्राप्त गरेको छ ।
पहिलो सिजन पूछारमा रहेर लिग सकाएको लुम्बिनीले दोस्रो सिजन शानदार पुनरागमन गर्दै च्याम्पियन बनेर ट्रफी उचाल्यो ।
तत्काल राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा राम्रा विदेशी खेलाडीहरुको साथमा लुम्बिनीले दोस्रो सिजनको उपाधि जितेको थियो ।
पहिलो सिजनको असफलताले ठुलो पाठ सिकेको लुम्बिनीले दोस्रो सिजनमा सुधारिएको प्रदर्शन गर्दै च्याम्पियन टोलीको हैसियत बनाएको हो ।
तेस्रो सिजनको लागि पनि लुम्बिनीले उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी थालिसकेको छ भने विदेशि खेलाडी र मुख्य प्रशिक्षक नियुक्त लगायत कामहरु पनि गरिरहेको छ ।
लुम्बिनीले तेस्रो सिजनअघि रेड पल्टन च्याम्पियनसिप आयोजना गर्दै लुम्बिनी प्रदेश भित्रका युवा खेलाडीहरुका लागि पनि आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिएको थियो ।
लुम्बिनीको लागि दोस्रो सिजनको उपाधि यात्रा रोलरकोस्टर जर्नी जस्तै रह्यो । सुरुवाती चार खेलमा एक खेल मात्र जितेको लुम्बिनी लिग चरणबाटै बाहिरिने खतरामा पुगिसकेको थियो ।
तर लिग चरणका अन्तिम तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेपछि ७ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा लिग सकायो र प्लेअफमा स्थान बनायो ।
पहिलो खेलमै खचितवन राइनोजलाई हराएर राम्रो सुरुवात गरेपनि लुम्बिनी त्यसपछि कर्णाली याक्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोएल्ससँग लगातार पराजित भएको थियो । तर त्यसपछि भने लुम्बिनीमाले सानदार कमब्याक गर्दै लगातार तीन खेल जित्ने क्रममा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई पराजित गर्यो ।
प्लेअफमा पुग्ने चार टिम मध्ये सबैभन्दा तल रहेको लुम्बिनीका लागि च्याम्पियन बन्नु चानचुने कुरा थिएन । तर त्यसपछि भने लुम्बिनीले लसिग चरणको अन्तिम तीन खेल जित्दाको लय कायम राख्दै फाइनल पुग्यो । एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराएको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्यो ।
लुम्बिनी भन्दा अघि नै सुदुरपश्चिम रोएल्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको थियो । दोस्रो प्रयासमा च्याम्पियन बन्ने लक्ष्य राखेको सुदूरपश्चिम रोएल्सललाई फाइनलमा ६ विकेटले पराजित गर्दै लुम्बिनीले जितको कथा लेखेको थियो ।
कोर टिम रिटेन
दोस्रो सिजनमा च्याम्पियन बनाएको टोलीबाट लुम्बिनीले आफ्नो कोर टिम तेस्रो संस्करणका लागि पनि रिटेन गरेको छ । लुम्बिनीले नेपालीतर्फ ७ खेलाडी रिटेन गरेको थियो ।
कप्तान रोहित पौडेलसहित शेर मल्ल सन्दिप जोरा तिलक भण्डारी अभिशेष गौतम दिनेश अधिकारी र दिलिप नाथलाई रिटेन गरेको थियो ।
दोस्रो सिजन च्याम्पियन बनाउन ती खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । शेर मल्लले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएका थिए ।
यस्तै विदेशी खेलाडीतर्फ पनि च्याम्पियन बनाउन सहयोग गर्ने डार्सी शर्ट रुबेन ट्रम्पलम्यान र निरोसान डिकवेलालाई लुम्बिनीले तेस्रो सिजनको लागि पनि अनुबन्ध गर्दै निरन्तरता दिएको छ । च्याम्पियन टोलीका अधिकांश खेलाडीलाई साथमा राख्दै लुम्बिनीले टिम एकता कायम राखेको छ ।
यस्तै लुम्बिनीले दोस्रो सिजन च्याम्पियन बनाउने टिमका मुख्य प्रशिक्षक भारतीय टिन योहान्नानलाई पनि मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।
लुम्बिनीको टिम यस पटक सन्तुलित बनेको छ । राष्ट्रिय टिमका ओपनर आसिफ शेखको आगमनपछि ओपनिङमा देखिएको समस्या पनि हल भएको छ ।
ओपनिङमा आसिफसँगै अष्ट्रेलियन खेलाडी डार्सी शर्ट हुनेछन् । यस्तै कप्तान रोहित पौडेल सहित सन्दीप जोरा अनी श्रीलंकन विकेटकिपर नोसन डिकवेलाले मिडल अर्डर सम्हाल्नेछन् ।
तीन विदेशी खेलाडी अझै अनुबन्ध गर्न बाँकी रहेकोले लुम्बिनीले फिनिसर वा अलराउण्डर भित्र्याउन सक्छ ।
बलिङमा नेपाली स्पीनरहरु शेर मल्ल, तिलक भण्डारी र अभिषेश गौतम छन् भने पेस बलिङमा नामिबियामा रुबेन ट्रम्पलम्यानलाई लुम्बिनीले तेस्रो सिजनका लागि पनि अनुबन्ध गरिसकेको छ ।
ट्रम्पलम्यानलाई पेसमा सघाउने अर्का मिडियम पेसर र अलराउण्डरको आगमनपछि लुम्बिनीको टिम बलियो बन्नेछ ।
अक्सनमा भाग्यमानी
लुम्बिनीले कोर टिम रिटेन मात्र गरेको छैन अक्सनबाट पनि राम्रा खेलाडी लिन सफल भयो । जनकपुर बोल्ट्सले मार्की प्लेअर आसिफ शेख रिलिज गर्दा ठुलो चर्चा बनेको थियो ।
त्यो खेलाडीलाई अनुबन्ध गर्न अक्सनमा सबैले प्रयास गरेका थिए । तर चितवन राइनोजबाहेक ७ खेलाडीले बिड गर्दा लक्की ड्र मा लुम्बिनीले नै आसिफ शखेलाई प्राप्त गर्यो । यस मानेमा लुम्बिनी भाग्यमानी समेत रह्यो ।
त्यति मात्र होइन लुम्बिनीले जनकपुरबाटै खेलिसकेका किशोर महतो र अरनिको यादवलाई पनि अक्सनबाट अनुबन्ध गर्यो । किशोरलाई पनि लुम्बिनीले अक्सनमा लक्की ड्र बाटै प्राप्त गरेको थियो ।
यस्तै लुम्बिनी लायन्ससँगै सुरुवाती दुई सिजन टिममा रहेका युवा मिडियम पेसर दुर्गेश गुप्तालाई पनि लुम्बीले अक्सनमार्फत टिममा लियो भने आफ्नै प्रदेशका अर्का युवा खेलाडी अजय चौहानलाई पनि तेस्रो सिजनका लागि टिममा राखेको छ ।
लुम्बिनी लायन्स टिम २०२६
रिटेन गरिएका खेलाडी : रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, शेर मल्ल, दिलिप नाथ
अक्सनमा अनुबन्ध खेलाडी : आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यावद, अजय चौहान
विदेशी खेलाडी : डार्शी सर्ट, रुबेन ट्रम्पलम्यान, निरोसन डिकवेला
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल
प्रतिक्रिया 4