+
+
Shares

ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन् : नारायणकाजी श्रेष्ठ

विकास मरहट्टा विकास मरहट्टा
२०७७ माघ १६ गते १७:४८

१६ माघ, गोरखा । नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पद जोगाउनका लागि केपी शर्मा ओलीले पार्टीमाथि आक्रमण गरेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार गोरखाको सिरानचोक गाउँपालिका चित्रेपोखरीमा आयोजित सभामा श्रेष्ठले प्रधानमन्त्री पदकै लागि ओलीले विगतमा पार्टी एकता गरेको बताए ।

‘संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छाै भनेर हामीले पार्टी एकता गरेका थियौ,’ उनले भने, ‘तर ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन्, पद जान्छ जस्तो लागेपछि पार्टीमाथि नै आक्रमण गरेर एकता भंग गरे ।’

संसद विघटन गरेर ओलीले लोकतन्त्र र संविधानको हत्या गरेको उनको आरोप छ । उनले भने, ‘संविधानको हत्या गरेर ओलीले संसद विघटन गरे तर अहिले अदालतमा उनको पक्षमा मुद्धा लड्ने वकिल कोही नपाएपछि राजतन्त्र चाहिन्छ गणतन्त्र मास्नुपर्छ भन्ने एक/दुई जना मान्छेलाई पैसा दिएर बहस गर्न लगाएका छन् ।’

ओली नेतृत्वको सरकारलाई दुई महिने सरकारको संज्ञा दिँदै उनले यो सरकारको तुजुक धेरै समय नटिक्ने बताए ।

कानूनत प्रचण्ड–माधव समूह नै वैधानिक नेकपा रहेको श्रेष्ठले जिकिर गरे । ‘पार्टीका केही लोभीपापीहरुले विभिन्न भूमिका निर्वाह गरेपनि दुई तिहाइ भन्दा बढी हामी छौं, प्रदेश कमिटिमा सातै प्रदेशमा हाम्रो बहुमत छ, जिल्ला कमिटिमा पनि ८५ प्रतिशतभन्दा बढी बहुमत छ, तर यति हुँदा पनि सय जना बराबरको गुटले पार्टीको आधिकारिकता आफूलाई भन्छ भने त्यो संविधान र कानूनले मान्दैन, त्यो पत्याउने कुरा पनि होइन,’ श्रेष्ठले भने ।

आफूहरुको पार्टी वैधानिकतालाई कसैले तोड्न नसक्दै बताउँदै उनले यसमा कुनै वहस गर्नुपर्ने आवश्यक नरहेको धारणा राखे । सभामा लेखनाथ न्यौपाने, रामकुमारी झाक्री, दिनेश देवकोटालगायतले सम्बोधन गरेका थिए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?