Comments Add Comment

गोर्खा भूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक !

वाशिङ्गटन । हाल अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा ल्याएका छन् ।

उनीले खिचेका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका–नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकमा २ सयवटा तस्विर रहनेछन् । त्यस्तै सन् २०१५ अप्रिल २५ नेपालमा भुकम्प आएकाले सोही मिति पारेर ‘४२५’ पुस्तकको नाम दिइएको श्रेष्ठले बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै राजदूत कार्कीले श्रेष्ठद्वारा कैद गरिएको फोटोकथा हेरेपछि आफूलाई २०७२ साल बैशाख १२ को महाभूकम्पको दर्दनाक स्मरण भएको बताए । ‘यो पुस्तक हेरेपछि मलाई त्यो समयको दर्दनाक स्थितिको स्मरण भयो । यसलाई पुस्तकको रुपमा देख्न पाउँदा म त्यतिबेला ज्यान गुमाउने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु,’ राजदूत कार्कीले भने, ‘यो पुस्तकलाई नेपाली समाजसम्म पुर्याउन सकियोस् । भूकम्पले पुर्याउने मानवीय क्षती र त्यसको प्रभावको विषयमा विश्वमा नै यो पुस्तकले नयाँ सन्देश दिनेछ ।’

त्यस्तै अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले पुस्तकले प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो मुलुकको दुखद क्षण याद दिलाउने बताइन् । ‘यो पुस्तकले हामी प्रवासमा बसेका नेपालीहरुलाई त्यो समयको दुःखको क्षण याद दिलाउँछ । हामीले भूकम्पको समयमा नेपालमा जति सहयोग गर्न पायौँ । त्यसमा हामी खुसी छौँ,’ उनले भनिन्, ‘यो पुस्तक एउटा इतिहासको दस्तावेजीकरण हुनेछ । हामीले संरक्षण गरेर राख्नुपर्छ ।’

फोटो पत्रकार कुमार श्रेष्ठले आफूले यो पुस्तकमा नेपालमा २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५७ मिनेटको समयदेखि उद्धारसम्मका २ सय तस्विर सामेल गरेको बताए । यो तस्विर कथा इतिहासको जीवित कथा हुने उनले बताए । ‘नेपालमा गएका भूकम्पहरु मध्ये १९९० को भूकम्पका कथाहरु हामीले सुनका छौँ । तर, जिवित तस्विरको रुपमा हामीसँग त्यो समयको पुस्तक छैन,’ उनले भने, ‘हामीले यसलाई कथा र किम्बदन्तीको रुपमा मात्रै होइन जिवित बनाउने प्रयास स्वरुप पुस्तकको रुपमा ल्याएका हौँ ।’

‘यो पुस्तकले आगामी दिनमा आम मानिस जनधनको सुरक्षा गर्न सचेत हुनेछन् । यो पुस्तक अमेजनबाट किन्न सकिनेछ । नेपालका लागि निकट भविष्यमै नेपालमै मुद्रण गरिनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment