Comments Add Comment

कोरोनाको ‘म्युटेड भाइरस’ : युरोपमा खोपसँगै लकडाउन पनि

१७ माघ, नर्वे । युरोपियन देश नर्वेमा कोरोनाको पहिलो चरण शुरु हुँदा गरिएको लकडाउनमा कार्यालयहरु खुला थिए, सपिङका लागि सहज व्यवस्था थियो । अर्कोतिर कोरोनाको दैनिक संक्रमणदर (करिब ४ सय तल) र मृत्युदर पनि निकै कम थियो । पहिलो चरणमा सन् २०२० को मार्च, अप्रिलसम्म लकडाउन गरेर क्रमशः खुलाउँदै लगेर लगभग कोरोनाको पहिलो लडाइँ जितेको नर्वे यतिबेला कोरोनाको दोस्रो चरणसँगै म्युटेड भाइरसको लडाइँमा छ ।

जून जुलाई महिनामा नर्वेमा मात्रै होइन, युरोपका अन्य  मुलुकमा पनि कोरोना संक्रमणको दर निकै घटेको थियो । त्यतिबेला अधिकांश देशले कोरोना नियन्त्रणमा लगाएका मापदण्डसमेत खुला गरे । यद्यपि गर्मी सिजन सकिएसँगै कोरोनाको दोस्रो वेभ शुरु भयो । दोस्रो वेभको संक्रमणलाई पार नलगाउँदै पुनः युरोपियन मुलुकहरुमा कोरोनाकै म्युटेड भाइरस निकै कडारुपमा फैलिएको छ ।

भाइरसको संक्रमण दरलाई नियन्त्रणको लागि कडा मापदण्ड र लकडाउनका युरोप देशहरुमा शुरु गर्न थालिको छ । भ्याक्सिनको विकासपछि भ्याक्सिन लगाउन गरिएको शुरुवातसँगै युरोपीयन मुलुकहरुले कोरोना नियन्त्रणमा आत्माविश्वास बढाएका थिए । जब म्युटेड भाइरस बेलायत हुँदै युरोपियन मुलुकमा फैलियो, यसपछि भने युरोपियन मुलुकहरुले भैरहेको लकडाउनलाई झन कडा बनाउँदै गएका छन् ।

एकतिर दोस्रो चरणमा पहिलो भन्दा तिव्र गतिमा भाइरस फैलिएपछि लकडाउनका कार्यक्रम थालेका थिए । नर्वेमै पनि दोस्रो चरणको कोरोनासँग लडन नोभेम्बर अन्तिममा मापदण्ड ल्याएको थियो । म्युटेट भाइरसका कारणले भने गत शनिबार बिहान आपतकालीन बैठक गरेर यहाँको सरकारले सोही दिनदेखि नै पब्लिकको भिडभाड हुने ठाउँहरु सबै बन्द गरायो । ग्रोसरी पसलबाहेक नर्वेमा अरु सबै बन्द छन् । यद्यपि, यहाँका मन्टेश्वरी स्कुल भने सुचारु छन् ।

फेब्रुअरी १ पछि लकडाउनका मापदण्डहरु फेरि फेरबदल गरिने नर्वेली सरकारले जनाएको छ । आफ्ना नागरिकलाई काम बाहेक बाहिर हिँडडुल नगर्न सरकारले आग्रह गरेको छ । सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ ।

यतिबेला युरोपियन देशहरु इटाली, स्पेन, फ्रान्स, बेल्जियम, जर्मनी, पोर्चुगल, स्विडेन, डेनमार्क, नर्वेलगायतका देशहरुमा भाइरस तीव्र गतिमा फैलिरहेको देखिन्छ ।

म्युटेड कोरोना भाइरसको संक्रमण बढेपछि जर्मनी उच्च सतर्कताका साथ लकडाउन र सावधानी अपनाइएको छ । फेब्रुअरीको दोस्रो सातासम्मको लागि जर्मन सरकारले रेस्टुरा, बार पूर्ण रुपमा टेकवे सेवा मात्रै संचालन गर्ने अनुमतिछ । पब्लिक ईभेन्टहरु डिसेम्बरबाटै बन्द छन् ।  एक परिवारले अर्को परिवार भेट्न रोक छ । कार्यलयको काम ‘वर्क फोरम होम’ बनाइएकोछ ।

कोरोना विरुद्धको भ्याक्सीन जर्मनीमा शुरु भइसकेकोछ । अहिलेले फ्रन्ट लाइनर वर्कर र वृद्धवृद्धालाई लगाईदैछ । जर्मनीमा अहिलेसम्म दुई लाख १६ हजार संक्रमित र ५३ हजारको मृत्यु भएको छ ।

इटाली गत फेब्रुअरीबाटै लकडाउनमै छ । पछिल्लो समयमा त्यहाँको लकडाउन मार्च ६ सम्मको लागि झन कडा पारिएको छ ।  पहिलो चरणको संक्रमण भन्दा दोस्रो चरणको संक्रमण तीन गुणाले बढी फैलिएको थियो । लकडाउनमा कडाइपछि अहिले करिब १० हजार दैनिक संक्रमण भइरहेको छ ।

इटालीमा अहिलेसम्म ८६ हजारको मृत्यु भएको छ भने यो समाचार तयार पारिरहँदा २४ लाख ५५ हजारमा भाइरसले संक्रमण गरिसकेको छ । इटालीमा रहेकी गोमा खरेलका अनुसार म्युटेट भाइरसले गर्दा पछिल्लो समयमा इटालीलाई कोरोना नियन्त्रणमा थप चुनौती बनाएको छ । यद्यपि इटालीमा पनि गत डिसेम्बर अन्तिम सातादेखि कोरोना खोप लगाउन शुरु गरिएको छ । उक्त खोप भने फ्रन्टलाइनर वर्करमा मात्रै सिमित छ ।

संक्रमण दर उच्च फैलिएको अर्को देश स्पेन पनि एक हो । पहिलो चरणको समयमा पनि स्पेन निकै ग्रसित थियो । अहिले पनि स्पेन लकडाउनमै छ । राजधानी म्याड्रिड लगायतका ठाउँमा त कर्फ्यु जारी गरेको छ । सरकारले २५ जनवरी २०२१ देखि लागु हुने गरी म्याड्रिड प्रान्तमा राति १० बजे देखि बिहान ६ बजेसम्म कर्फ्यु लागु गरेकोछ । रेष्टुरेन्ट लगायतका सम्पूर्ण भिडभाड हुने व्यवसाय राति ९ बजे बन्द गर्न निर्देशन दिइएको छ । अति आवश्यक काम बाहेक एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावतमा प्रतिबन्ध छ ।  सप्ताहन्तमा अति आवश्यक सामग्री निनमेलका पसल खोल्न पाइनेछ । स्पेनमा अहिलेसम्म ५५ हजारको मृत्यु भएको छ भने करिब  २६ लाख कोरोनाबाट संक्रमित बनेका छन् ।

पोर्चुगलमा पछिल्लो समयमा मृत्युदर बढेको त्यहाँका संचारमाध्ययमले लेखेका छन । पोर्चुगलमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण २ सय ७४ जनाको ज्यान गएको उल्लेख छ । सोही समयमा १५ हजार ३ सय ३३ थप संक्रमित फेला परेका छन् । पोर्चुगलमा हालसम्मकै अत्याधिक संक्रमित फेला परेका छन् भने एकै दिनमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन रेर्कड बनाउँदै गएको छ ।

कोरोना महामारी शुरुभएयता पोर्चुगलमा १० हजार बढीको ज्यान गएको छ भने ६ लाख २४ हजार बढी संक्रमित भएका छन् । सरकारले संकटकाल कानुनमा परिवर्तन गर्दै सुरक्षा अधिकारीहरुलाई कानुन उल्लङ्घन गर्नेलाई स्पटमै (ठाउँको ठाउँ) जरिवाना गर्ने अधिकार दिएको छ । संकटकाल कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २ देखी हजार युरोसम्म र व्यवसायलाई कम्तिमा २ युरोदेखी १० हजार युरोसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ ।  स्पटमै जरिवाना तिर्न नसक्नेलाई अदालतमा बोलाईने र अदालती प्रकृयासम्मको सबै हर्जाना रकम समेत कानुन उल्लङ्घनकर्ताले तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

बेल्जियम पनि लामो समयदेखि लकडाउनमै छ । बेल्जियममा रातको १० बजेदेखि विहान ६ बजेसम्म कफर्यु जारी छ ।  रेष्टुरेन्ट, बारलगायत भिडभाड हुने व्यवसाय पुर्ण रुपमा बन्द रहेका छन् । ३ जना भन्दा बढी मानिसलाई भेटघाटमा प्रतिबन्ध लगाइएको छ ।  साँझ ८ बजे पछि मदिरा विक्रिवितरणमा रोक लगाइएको छ ।

कोरोना माहामारीका कारण बन्द भएका  कम्पनीका कामदारलाई सरकारले ७० प्रतिशत बेरोजगार भत्ता उपलब्ध गराउँछ । बेल्जियममा कोरोना विरुद्धको भ्याक्सीन लगाउन शुरु गरिएको छ । अहिले फ्रन्टलाइन वर्करलाई पहिलो प्राथमिकतामा राखिएको छ । जुलाई, अगष्टसम्ममा सर्बसाधारणलाई भ्याक्सिन लगाइने सरकारले जनाएको छ ।  बेल्जीयममा ७ लाख संक्रमित भएका छन् भने अहिलेसम्म २० हजारको मृत्यु भएको छ ।

नेदरल्याण्डमा बेलायतबाट शुरु भएको नयाँँ कोरोना भाईरसको संक्रमण बढेको छ ।  म्युटेट भाइरसको कारणले गर्दा कोरोना संक्रमण नियन्त्रणबाहिर गएपछि रातको समयमा कर्फ्यु छ । साँझ ८ बजेदेखि विहान ४ बजेसम्म पुर्ण रुपमा कर्फु लगाईएको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा मास्क प्रयोग अनिवार्य गरिएको छ । होटल, क्याफे र रेस्टुरेन्ट सबै बन्द छन । सुपरमार्केट भने खुला रहेको छ । नेदरल्याण्डमा गत जनवरी पहिलो सातादेखि कोरोना विरुद्धको भ्याक्सीन शुरु गरिएको छ । अहिले फ्रन्टलाईन वर्करहरुलाई भ्याक्सीन लगाईएको छ ।  नेदरल्याण्डमा अहिलेसम्म ९ लाख ४८ हजार संक्रमित भएका छन भने  १३ हजारको मृत्यु भएको छ ।

बेलायतबाट फैलिएको म्युटेट भाइरस नै स्वीटजरल्याण्डमा तिब्र गतिमा फैलिएको छ । त्यहाँको सरकारले फेब्रुअरी अन्तिसम्मको लागि लकडाउन घोषणा गरेको छ । स्वीसभरि मास्क प्रयोलाइ अनिबार्य गरिएको छ । त्यहाँ  ६५ वर्षमाथिका नागरिक र फ्रन्ट लाइन वर्करलाई कोरोना भ्याक्सिन शुरु गरिएको छ । ८० लाख  नागरिक रहेको स्वीटजरल्याण्डमा जुन जुलाईसम्म भ्याक्सीन लगाइसक्ने त्यहाँको सरकारले जनाएको छ । स्वीजरल्याण्डमा अहिलेसम्म ५ लाख ९ हजार संक्रमित भएका छन् भने ९ हजारको मृत्यु भएको छ ।

त्यस्तै डेनमार्कमा पनि संक्रमण दर उच्च रहेको छ । डेनमार्क सरकारले फेब्रुअरी ७ सम्म फेरि लकडाउन थप गरेको छ । खाद्यान्न पसल र किन्डरगार्टेन बाहेक अन्य भिडभाड हुने स्थानहरु पुर्ण रुपमा बन्द रहेका छन् । विनाकाम जथाभावि नहडिन नागरिक समक्ष सरकारको आग्रह छ ।  ५ जना भन्दा बढी भेटघाट गर्न नपाउने नियम डेनमार्क सरकारको छ । सार्वजनिक स्थानमा र कार्यालयमा मास्क अनिवार्य गरिएको छ । सरकारले जारी गरेको नियम उलङ्घन गरेको पाइएमा जरिवाना तोकिएको छ । डेनमार्कमा पनि कोरोना भाइरसको खोप लगाउन शुरु भएको छ । अहिले फन्टलाईन वर्करलाई खोप लगाईदै छ ।

‘युरोपका नागरिक र सरकारमा सम्झदारी छ’

जीवा लामिछाने, पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ

दोस्रो वेभको कोरोना भाइरससँग लडिरहेको युरोप यतिबेला म्युटेड भाइरससँग जुधिरहेको छ । पहिलो चरणभन्दा दोस्रो वेभको कोरोना संक्रमण र मृत्युदर उच्च रहेकोमा झन बेलायत हुँदै युरोपभरि फैलिरहेको म्युटेड भाइरसले गर्दा युरोप झन समस्यामा परेको छ । एकातिर भ्याक्सिन शुरु हुँदै गर्दा आत्माविश्वास त थपिएको छ यद्यपि म्युटेड भाइरस कडा रुपमा फैलिँरहेका कारणले मापदण्ड र लकडाउनका कार्यक्रममा भने झन कडा बनाइएकैछ ।

म जर्मनीमा बस्छु । गत मार्च २०२० बाट जर्मनीमा लकडाउन शुरु भएको हो । गर्मी मौसममा भने कोरोनाको संक्रमण दर निकै कम भएको थियो । त्यो समयमा लकडाउन तथा मापदण्डहरु पनि खुला गरियो । तर, दोस्रो वेभ त्यसपछि थपिएको म्युटेड भाइरसले भने जर्मनी पुर्ण रुपमा लकडाउनमा छ । जर्मनी मात्रै नभएर युरोप लभगभ सबै देशको अवस्था उस्तै छ ।

युरोपका देशहरु कोरोना नियन्त्रणका लागि वफदार भएर लागेको देखिन्छ । यहाँका नागरिकले चिकित्सा विज्ञानले दिनसक्ने सेवा पाएकै देखिन्छ । राज्यले भनेका कुराहरु नागरिकले पनि बफादार भएर मानेकै देखिन्छ । राज्य र नागरिकले कोरोना नियन्त्रणमा गर्नुपर्ने सबै काम समझदारीमा गरिरहेका देखिन्छ ।

यसरी युरोपबाट नेपाललाई हेर्दा नेपाल त्यति सचेत नभएको जस्तो देखिन्छ । युरोप तथा विकसित देशले जे गरिरहेकोछ त्यो नेपालले पनि गर्नुपर्छ भन्ने त होइन, यद्यपि नेपालले आफ्नो हैसियत अनुसारको कार्य भने गर्न सक्नुपर्छ । सरकार जनताप्रति जवाफदेही जस्तो देखिनुपर्छ भने जनताले पनि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नपर्छ जस्तो लाग्छ मलाई ।

नेपालमा अहिले जुन खालको गतिविधि भएको छ, एकदमै गलत भइरहेको जस्तो लाग्छ मलाई । विकसित देशहरु कोरोनाले ग्रस्त भएर मापदण्ड र लकडाउनलाई कडा बनाइरहँदा नेपालमा भने राजनीतिको वेमौसमी बाजा बजेकोछ । ठूलाठूला सभा र आन्दोलनहरु हुन शुरु गरेका छन् । अहिले जसरी युरोपमा फैलिरहेको म्युटेड भाइरस ढिलोचाँडो नेपालमा पनि पुग्ने देखिन्छ । उक्त भाइरस नेपालमा फैलिएको खण्डमा भने अहिले बजिरहेको बेमौसमी बाजाको नराम्रो असर देखिनेछ ।

पशुपतिनाथकै कृपाले भनौं, वा भगवान दाहिना भएर नेपालमा अहिले युरोपको जस्तो कोरोना संक्रमण छैन भने मृत्युदर पनि कम छ । युरोपमा भने पछिल्लो समयमा संक्रमण र मृत्युदर दुबैले दिन प्रतिदिन नयाँ रेकर्ड बनाउँदै लगेको छ । मृत्यु हुनेमा संख्यामा भने बृद्धबृद्धाहरुको धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment