+
+
Shares

पुलको काम २५ प्रतिशत सकिएपछि मुख्यमन्त्रीद्वारा शिलान्यास

बेमौसमको नाटक : घर्ती

टोपराज शर्मा टोपराज शर्मा
२०७७ माघ १८ गते ११:१७

१८ माघ, बुटवल । गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् ।

२५ प्रतिशत काम भइसकेको पुल शिलान्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको भद्र अवज्ञा र विरोध गरेको छ ।

प्रचण्ड–माधव समूहको विरोधका कारण शनिबारको शिलान्यास कार्यक्रममा नगण्य उपस्थिति हुन पुग्यो । सुरक्षाकर्मीसहित करिब सय जना हाराहारीमा मात्रै ओली पक्षका कार्यकर्ता र स्थानीयको उपस्थिति हुँदा शिलान्याश कार्यक्रम खल्लो भएको स्थानीय पत्रकार मानसिंह विकले बताए ।

‘भ्रम छर्न बेमौसमको नाटक’

नेकपा रोल्पा जिल्ला अध्यक्ष (प्रचण्ड–माधव समूह) सुरेन्द्र घर्तीले दुई वटा पिल्लर तयार भएको र अर्को पिल्लर बनिरहेको अवस्थामा तीन महिना पछि पुलको शिलान्याश गर्नु जनतामा भ्रम छर्ने बेमौसमको नाटकको संज्ञा दिए । ‘अहिले न शिलान्याश न उद्घाटनको समय हो,’ घर्तीले भने, ‘विकास देखाएर जनतामा भ्रम छर्ने ओली गुटको बेमौसमको तमासा र नाटक मात्र हो ।’

रोल्पाको धाङसी खोला पुल

रोल्पा नगरपालिकामा ओली समूहलाई समर्थन गर्ने मान्छे नभएपछि होलेरी र त्रिवेणी गाउँपालिकाबाट बसमा मान्छे ओसारेर शिलान्याश र गुटको भेला गरिएको घर्तीको टिप्पणी छ । प्रदेश सरकारमा एकै ठाउँ भएकाले कार्यक्रमको भद्र अवज्ञा गरिएको उनले बताए । जिल्लाका १० स्थानीय तहमध्ये ७ तहका जनप्रतिनिधि प्रचण्ड–माधव समूहमा भए पनि रोल्पाका मेयर र जिल्ला समन्वय समिति संयोजकलाई मात्रै शिलान्याशमा पठाइएको अध्यक्ष घर्तीले जानकारी दिए ।

पुल शिलान्यासका क्रममा मुख्यमन्त्री पोखरेलले समय नमिलेका कारणले शिलान्यासमा ढिलाइ भएको बताए । ‘यो पुल शिलान्यास पहिलै नै गर्नुपर्ने हो, तर हाम्रो समय मिलेन,’ मुख्यमन्त्रीले भने, ‘प्रदेश सरकारका ठूला आयोजनाको अनिवार्य शिलान्यास गर्नुपर्ने नियम छ, त्यसैले ढिलै भएपनि शिलान्यास गरेको हो ।’ सधैं विद्रोही मानसिकताले गर्दा जिल्लाको विकास पछाडि परेको भन्दै उनले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरे ।

पुल शिलान्यासका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी शुक्रबार साँझ नै रोल्पाको लिवाङ पुगेका थिए ।

सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक/राज जेभी बीच गत असोज २५ गते सम्झौता भई मंसिर ७ गतेदेखि पुल निर्माणको काम शुरु भएको थियो ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख नविनकुमार श्रेष्ठले ६० मिटर लामो पुल निर्माण कार्य तीन महिनादेखि नियमितरुपमा भइरहेको र २ वर्ष अगावै सम्पन्न हुने बताए । पुल निर्माण कम्पनी एसियाटिक/राज जेभीका राजवीर घर्तीले करिव २५ प्रतिशत काम सम्पन्नसँगै १ करोड २३ लाख र सोको भ्याट १५ लाख ९९ हजार भुक्तानी लिएको बताए । पुल निर्माणको लागत भ्याटसहित ५ करोड ६१ लाख हो ।

पुल शिलान्याश गरेपछि मुख्यमन्त्री पोखरेलसहित ओली समूहका नेताहरु सदरमुकाम लिवाङस्थित रोल्पा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ओली पक्षको कार्यकर्ता भेलामा प्रशिक्षणका लागि सहभागी भएका थिए ।

 

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?