Comments Add Comment

नेकपा विभाजनको असर विकासमा : रोल्पामा बनिरहेको पुल शिलान्यास गर्न खोजेको भन्दै विरोध

रोल्पामा निर्माणाधीन पुल

१७ माघ, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली समूहका नेता शंकर पोखरेल बनिरहेको पुल शिलान्यास गर्न रोल्पा आउन लागेको भन्दै प्रचण्ड–माधव समूहले विरोध गरेको छ ।

सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुल शिलान्यास गर्न मुख्यमन्त्री शंकर पोखरेल रोल्पा आउन लागेको प्रदेशसभा सदस्य एवम् नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुन (सिजल) ले बताए । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ आइसकेका छन् ।

सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक/राज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएर पुल निर्माण कार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माण कार्य सुरु भएको थियो । उनका अनुसार २५ प्रतिशत काम सम्पन्न भएर निर्माण पक्षलाई भ्याटसहित ५ करोड ६१ लाख रुपैयाँ भुक्तानीसमेत दिइसकिएको छ ।

तीनवटा पुलको शिलान्यास गर्न मुख्यमन्त्री पोखरेल रोल्पा जान लागेको उनको सचिवालयले जनाएको छ ।

सामान्यतया कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ । तर, निर्माण कार्य सकिने चरणमा रहेको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ ।

प्रचण्ड–माधव समूहका नेता पुनले गुट भेलाका नाममा बोलाउँदा जनता उपस्थित नहुने भएपछि बन्दै गरेको पुल शिलान्यासको बहानामा ओली गुटको भेला आयोजना गरिएको टिप्पणी गरे । ‘उहाँहरुका पक्षमा जनता छैनन्, गुटको कार्यक्रम भन्दा कोही आउँदैनन्’, पुनले भने, ‘सरकारका साधनस्रोत दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तार गर्ने प्रयास भएको छ ।

निर्माण सम्पन्न भएर उदघाटन गर्नुपर्ने पुलको तामधामसहित शिलान्यास गर्न लागिएको भन्दै पुनले आपत्ति जनाए । उनले यसअघि मुख्यमन्त्री पोखरेल सहभागी ओली समूहको जिल्ला भेलामा ४३ जना सहभागी भएको भन्दै गुट निर्माणका लागि पुल शिलान्यासको बहाना गरिएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment