Comments Add Comment

आज माघ १९ : व्यवस्था फेरियो, अवस्था फेरिएन

मन्त्रीमण्डलका सदस्यहरुलाई शपथ ग्रहण गराउँदै ज्ञानेन्द्र शाह

१९ माघ, काठमाडौं । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा आजकै दिन शासनसत्ता हातमा लिएका थिए ।

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको र राजकीय तथा शासकीय सत्ता अब आफ्नो हातमा रहेको घोषणा गरेका थिए । यो शाही ‘कू’लाई नेपालको राजनीतिमा कालो दिनको रुपमा स्मरण गरिन्छ ।

ज्ञानेन्द्र शाहले मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर जनताका मौलिक अधिकार निलम्बन गरिदिएका थिए । साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी उनले नजरबन्दमा राखेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र र रानी कोमल

ज्ञानेन्द्र शाहको यो कदमबाट बहुदलीय प्रजातन्त्रका मान्यताहरु पूर्णरुपमा समाप्त भएपछि तत्कालीन विद्रोही माओवादीसहित प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएअनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो ।

त्यसपछि २०६२ चैत २४ गते सुरु भएर २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो । यही बीचमा माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनको जगमा पुनःस्थापित संसदले मुलुकबाट राजतन्त्र समाप्त गरी गणतन्त्र घोषणा गरेको थियो ।

त्यसपछि राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए । टेलिभिजन सम्बोधनमार्फत् उनले ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेका थिए ।

राजसंस्था फालेर लोकतान्त्रिक गणतन्त्र बहाली भएको १६ वर्ष पुगिसक्दा पनि जनचाहनाअनुसारको विकास र समृद्धि हुन नसक्दा आम नेपालीमा नैराश्य छाएको छ । वर्तमान राजनीतिक दलहरूप्रति जनताको विश्वास घट्दै गएको यो परिस्थितिमा राजसंस्थाको माग गर्नेहरु सलबलाउँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment