Comments Add Comment

चन्दा उठाएर भर्ना भएका सुरजको शव अस्पतालले दिएन

१९ माघ, विराटनगर । चन्दा उठाएर उपचारका लागि नोबेल मेडिकल कलेज भर्ना गरिएका झापा दमक नगरपालिका–८ का ४८ वर्षीय सुरज बुढाथोकीको शव दुई दिनदेखि अस्पतालको शव गृहमा छ । आफन्तको मृत्यु भएको पीडा र दाहसंस्कारका शव पाउने आशामा आफन्तहरु माघको चिसोमा अस्पताल बाहिर कुरिरहेका छन् ।

तर नोबेल मेडिकल कलेज विराटनगरले उपचारमा लागेको सबै बिल नतिरेसम्म शव जिम्मा नदिने बताउँदै आएको छ ।

भाडाको सफारी सञ्चालन गर्दै आएका सुरज गत माघ २ गते अचानक बेहोस भएका थिए । सफारी बनाउन ग्यारेज लैजादै गर्दा बेहोस भएका उनलाई आफन्तले दमकको लाइफगार्ड अस्पताल हुँदै नोबेलमा उपचारका लागि भर्ना गराएका थिए ।

उच्च रक्तचापका कारण बेहोस भएको बताउँदै अस्पतालले आईसीयूमा राखेर उपचार सुरु गरेको थियो । अवस्था थप जटिल भएको बताउँदै भेन्टिलेटरमा राख्यो ।

जेठी छोरी सुजनाका अनुसार सुरजको टाउकोको शल्यक्रिया भएको १२ दिनपछि मात्र अस्पतालले आइतबार मृत्यु भएको जानकारी दिएको थियो । मृत्यु भएपछि परिवारले चन्दा उठाएको पैसा सबै अस्पतालमा जम्मा गरे । तर अझै एक लाख ५० हजार रुपैयाँ नपुगेको भन्दै नोबेल मेडिकल कलेजले शव आफन्तलाई दिएन ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बुढाथोकीलाई आफन्त र गाउँमा चन्दा उठाएर भर्ना गरिएको थियो । उपचारका लागि भन्दै आफन्तले ऋण पनि लिएका छन् ।

आफन्त कृष्ण खड्काका अनुसार अस्पतालमा तीन लाख ७२ हजार रुपैयाँ बुझाइएको छ । तर थप एकलाख ५० हजार नतिरेसम्म शव नदिने अस्पतालले बताएको उनले गुनासो गरे ।

औषधि वापत दुई लाख रुपैयाँ ऋण र चन्दा खोजेर बुझाएका छन् । ‘भएभरको सबै पैसा बुझाइसकिएको छ । चन्दा उठाएको रकम पनि सकियो,’ आफन्त कृष्ण खड्काले भने, ‘पैसा नतिरेसम्म शव नदिने भन्दैछ ।’

सफारी भाडामा लिएर चलाउँदै आएका बुढाथोकी परिवार पनि भाडामा बस्दै आएको छ । सफारी चलाएर उनले परिवारको गुजारा चलाउँदै आएका थिए । घरको कमाउने सदस्य गुमाउनुको पीडासँगै परिवारका सदस्यलाई पैसा नभएका कारण अन्तिम संस्कार गर्न नपाइने होकी भन्ने चिन्ता छ । ‘अन्तिम संस्कारका शव मागिरहेका छौं’ खड्काले भने, ‘अस्पतालले पहिला पैसा तिरेपछिमात्रै दिने भन्छ ।’

परिवारका सदस्यले उपचार र औषधि बापत पाँच लाख ७२ हजार रुपैयाँ बुझाएका छन् । बाँकी एक लाख ५० हजार रुपैयाँ तिर्न नसक्दा दुई दिनदेखि बुवाको शव लगेर दाहसंस्कार गर्न नपाएको छोरी सुजनाले बताइन् ।

अस्पतालका प्रबन्धक नारायण दाहालले परिवारकै सहमतिमा उपचार गरिएकाले शुल्क तिरेपछि मात्रै शव जिम्मा लगाउने बताए । पैसा तिर्न बाँकी भएको विषयमा आफन्तहरु अस्पताल प्रशासनमा नआएको उनले बताए । तर बुढाथोकीका आफन्तहरु भने शुल्क छुट गरिदिन नियमित रुपमा अस्पताल प्रशासन धाइरहे पनि नसुनेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment