Comments Add Comment

७ फागुनमा टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुन्छ : नारायण वाग्ले

२० माघ, काठमाडौं । बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने बताएका छन् ।

मंगलबार दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर भएपनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने उद्घोष गरे ।

उनले भने, ‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ । उक्त सभामा बृहत् नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गरी नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं ।’

उनको मन्तव्यको सारसंक्षेप :

हामीले यसपालि शहीदको समर्पणमा निरन्तर कार्यक्रम गर्‍यौं । अब यसपालिको प्रजातन्त्र दिवस हामी आफैं मनाउन जानेछौं । त्यही दिन हामी नागरिक हो कि रैती, भन्ने कुरा सोध्नेछौं । नागरिक अधिकार कहाँ दमन गरियो, कहाँकहाँ खोसियो, त्यसमा हामी प्रश्न गर्नेछौं ।

७० वर्षदेखिको एक–एक हिसाब माग्नुपर्ने भएको छ । हिजो राणा शासनमा हिँड्न पाइँदैनथ्यो । आज देशमा निषेधाज्ञा छ, महत्त्वपूर्ण ठाउँमा काँडेतार छ । हामी खोकनामा गएका थियौं, त्यहाँको खेत बाँझो छ ।

अब शासकहरूले भन्नुपर्छ, हिजो सिंहदरबार कसले बनायो ? त्यो माटो केले बनेको थियो ? सिंहदरबारको नेपाली जनताको गाँस, बास, चामल र मास घर–घरबाट खोसेर ल्याएर बनाइएको हो । त्यसरी सिंहदरबार बनाउँदा छ महिनासम्म पहाडमा र भक्तपुर–काठमाडौंमा अनिकाल परेको थियो ।

हाम्रा बालबच्चाहरू कुपोषणको शिकार भए । त्यो सिंहदरबार, त्यहाँका शासक, त्यहाँका मालिकहरू आज के भए ? झन् शासक भए । ती शासकहरू सेवक हुन्छन् भनेर हामीले सोचेका थियौं, तर उनीहरू फेरि शोषक कसरी भए ? हामीले थाहा पाउनुपर्छ । आज पशुपतिमा सुनले जललहरी हाल्न लागेका छन् । राणा र आजको प्रधानमन्त्रीमा के फरक भयो । खोप लगाउने पैसाले तोप पड्काउन थालेका छन् ।

यसरी हिजोको विकसित नेपाल मण्डल कसरी बिगारियो ? यी सबै इतिहासको एक-एक हिसाब हुनुपर्छ । फागुन ७ गते यो सबै कुरा बताइनेछ । हाम्रो माटोमा टेकेर हामी बोल्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment