Comments Add Comment

जलहरिमा सुनको जलप : परम्परा तोड्ने ओलीको अभिव्यक्तिबारे के भन्छन् संस्कृतिविद् ?

२१ माघ, काठमाडौं । सोमबार ढल्केबरको सबस्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामका लागि पुरानो परम्परा तोड्नुपर्ने अभिव्यक्ति दिए ।

पशुपति मन्दिरको मूल शिवलिंगमा रहेको जलहरिमा सुनको लेपन लगाउने विषयमा भएको विवादलाई लक्षित गर्दै उनले यस्तो प्रतिकि्रया दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका थिए ‘पशुपतिमा पहिलेजस्तै चाँदीकै जलहरि हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु,’मेरो बुबा किसान हुनुहुन्थ्यो, तर म प्रधानमन्त्री भएँ । नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले भनेजस्तै नयाँ काम गर्नका लागि परम्परा भत्काउनै पर्छ त ? सांस्कृतिक क्षेत्रका जानकारहरू भने परम्परा तोड्नुपर्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति असहमति प्रकट गर्छन् । केहीले चाहिँ प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाउनु नपर्ने बताएका छन् ।

सामान्यतया हिन्दु धर्ममा सबै देवीदेवताहरूको छुट्टाछुट्टै कार्यविभाजन छ । सोही कार्यानुसार उनीहरूको पूजा विधान वा प्रतिमा लक्षणको विषय उल्लेख छ । यही पूजा विधान र प्रतिमा लक्षणको विषयमा धेरै संस्कृतिविद् एवं सो क्षेत्रका जानकारहरु सम्बन्धित क्षेत्रका जानकारसँग छलफल गरेर निर्णय लिँदा उपयुक्त हुने बताउँछन् ।

पशुपति क्षेत्रका सम्पदा एवं परम्पराहरुका अध्येता एवं श्रीपशुपति अर्चना तथा सुव्यवस्था प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा. देवीप्रसाद चापागाईं प्रधानमन्त्रीले भनेजस्तो केही नयाँ गर्नका लागि परम्परा तोड्नुपर्छ भन्ने तर्कमा आपत्ति जनाउँछन् । उनी संसारमा सबैभन्दा ढिला परिवर्तन हुने विषय संस्कृति नै रहेको भन्दै राजनीतिक दलले भन्नेबित्तिकै सांस्कृतिक परम्परा नतोडिएका कैयौं उदाहरणहरू रहेको बताउँछन् ।

‘भारतमा अंग्रेजहरूको समयमा हिन्दुधर्म बनेबापत जजिया कर लगाइयो । तर, पनि संस्कृति नासिने र परिवर्तन भएन । चीनमा सांस्कृतिक क्रान्ति भनेर केही वर्ष खेर फालियो, अहिले पहिलेकै अवस्थामा पुगेको छ, त्यसैले यो विस्तारै समयसँगै आफैँ परिवर्तन हुने चिज हो, प्रधानमन्त्रीले भन्दैमा परम्परा तोडिँदैन र तोड्ने प्रयास गर्नुहुँदैन’ उनले भने ।

पशुपतिको मूल जलहरिमा सुनको आवरणले ढाक्ने निर्णयको बारेमा पनि चापागाईं आपत्ति जनाउँछन् । उनी भगवानका लागि छुट्टाछुट्टै बस्त्र र आभूषणको विधान धर्मशास्त्रमा रहेको भन्दै सुनको जलप राख्नु उपयुक्त नरहेको दाबी गर्छन् ।

यो श्रृङ्गारबाहेक कुनै पनि दृष्टिबाट सही मानिँदैन । त्यही भएर नै अहिलेसम्म नेपाल र भारतका अधिकांश शिवालयहरूमा सुनको जलहरि वा शिवलिंग राख्ने चलन छैन । चापागाईंका अनुसार शिव स्वभावैले मसानमा बस्ने र धर्मशास्त्रले पनि ‘श्रृङ्गार प्रियः विष्णु, अभिषेक पि्रयः शिव’ भन्ने उल्लेख भएकाले शिवालयमा रत्नआभूषणले झकिझकाउ बनाउनु आवश्यक छैन ।

बागमती प्रदेशका प्रदेश सभा सांसद एवं पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य परम्परा तोड्नु पर्छ भन्ने प्रधानमन्त्रीलाई स्थानीयले परम्परा तोड्न नदिने चेतावनी दिए ।

समृद्धिको संकेत गर्न देवादिदेव महादेवको मुख्य मूर्तिमाथिको परम्परा नै तोड्न नदिने भन्दै उनले चाँदीको पातोले लेप लगाउने परम्परा रहेको पशुपतिमा सुनको लेपन शैवमत विपरीत रहेकाले यो विषय कार्यान्वयनमा आउन नसक्ने बताए । वैद्यले २०१३ सालमा बनेको प्राचीन सम्पदा संरक्षण ऐनले पनि चाँदीको ठाउँमा सुनको लेपन गर्न नदिने भन्दै गैरकानुनी काममा स्थानीयले सहयोग गर्न नसक्ने बताए ।

वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभागका प्रा.डा. देवमणि भट्टराई पनि प्रधानमन्त्रीको नयाँ काम गर्नको परम्परा तोड्नुपर्छ भन्ने मतलाई खण्डन गर्छन् । संस्कृति विस्तारै परिवर्तन हुने विषय भन्दैमा कसैको रहरले परम्परा तोडिने विषय नभएको बताउँछन् ।

पशुपतिको जलहरिमा सुनको प्रतिमा राख्ने विषयमा भने उनले धर्मशास्त्रमा शिवलाई सुन चढाउन हुँदैन भन्ने मान्यता नरहेकोले संस्कृतिविपरीत हुँदैन भन्ने उनको तर्क छ । ‘अहिलेसम्म चढाइएको छैन, अब किन चढाएर परम्परा तोड्ने भन्ने कुरा स्वाभाविक हो । तर, सुनकै जलहरि चढाए पनि धर्मशास्त्रको नियम विपरीत भने हुँदैन’ उनले भने ।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डन भने सुनको जलहरि राख्ने विषय शास्त्र विपरीत नरहेको भन्दै विरोधका लागि मात्रै विरोध गर्नुको औचित्य नरहेको बताउँछन् । उनी विश्वको ध्यान तान्ने पशुपति मन्दिरको मूल मन्दिरमा आभूषणले सजाउनु सकारात्मक विषय रहेको बताउँछन् ।

कसरी आयो पशुपतिमा सुनको जलहरि राख्ने प्रस्ताव ?

पशुपतिनाथको मूल जलहरिलाई अहिले चाँदीको लेप लगाइएको छ । लेपमात्रै भन्दा पनि चाँदीको पाताले ढाकिएको छ । पहिले ढुंगाको जलहरि मात्रै रहेको पशुपतिमा पृथ्वीनारायण शाहका पालामा उनकी छोरीले चाँदीको आवरणले ढाकेको भन्ने मान्यता छ । कसैले यसलाई रणबहादुर शाहका पालामा राखिएको भन्ने पनि मान्यता राख्छन् । तत्कालीन राजा महेन्द्रका पालामा त्यहाँको चाँदी परिवर्तन गरिएको थियो भन्ने पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु बताउँछन् ।

त्यतिबेला राखिएको चाँदीको पाता उप्किएर अहिले सफा गर्न समस्या रहेको गुनासो भट्ट पुजारीहरुको रहँदै आएको छ । दूध चढाउँदा छेद भएको चाँदीको पाताबाट भित्रसम्म दूध पुग्ने र त्यसलाई सफा गर्न गाह्रो हुँदा दुर्गन्धित समेत भएको भन्दै पूर्व मुख्यभट्ट पूजारी महावलेश्वरका पालामा नै परिवर्तन गर्न या यसलाई हटाइदिनका लागि हरेक राष्ट्रप्रमुखको पशुपति भ्रमणका बेलामा आग्रह भएको थियो ।

यही सिलसिलामा २०७० सालदेखि पशुपति क्षेत्र विकास कोषको तर्फबाट पनि यसका लागि विशेष पहल सुरु भएको कोषले जनाएको छ ।

तीन वर्ष अघि पशुपति दर्शनका लागि आएका एक जना भारतीय व्यापारीले पशुपतिका लागि ५० किलो सुन दान गर्ने प्रतिवद्धता गरेका थिए । सोही बेला कोषले चाँदीको जलहरि हटाएर सुनको जलहरि राख्ने निर्णय गरेको थियो ।

केपी ओलीले सोही भारतीय दाताले सुन दान गर्ने आधारमा सुनको जलहरि राख्ने घोषणा गरेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment