Comments Add Comment

महिला राष्ट्रिय लिग फुटबल : विराटनगरसँग पुलिस स्तब्ध

२१ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब महिला राष्ट्रिय लिग फुटबलमा विराटनगर महानगरपालिकासँग पराजित भएको छ ।

लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा विराटनगरले पुलिसलाई १-० गोलले स्तब्ध पारेको हो । विराटनगरको जितमा पार्वती घलेले एक मात्र गोल गरिन् ।

खेलको नवौं मिनेटमा पार्वतीले गरेको गोल नै विराटनगरलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

खेलमा पुलिसले गोल फर्काउने अवसर पाएपनि सदुपयोग गर्न सकेन । जारी लिगमा पुलिसको यो दोस्रो हार हो ।

पुलिसलाई पराजित गर्दै लिगमा तेस्रो जित हात पारेको विराटनगर ६ खेलबाट १० अंक जोड्दै अंकतालिकामा पुलिसलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ ।

६ खेलबाट ८ अंक रहेको पुलिस चौथो स्थानमा झरेको छ । यसअघि पुलिस एपीएफसँग पराजित भएको थियो भने त्रिभुवन आर्मीसँग र वालिङ नगरपालिकासँग बराबरी खेलेको थियो । पुलिसले चन्द्रपुर र चौदण्डीगढीलाई भने पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको डबल राउण्ड रोविन लिगमा सिंगल लिगका २१ खेलहरु सकिएका छन् ।

अब २१ खेल बाँकी छ । ६ खेलमा शतप्रतिशत जित हात पारेको एपीएफ १८ अंकसहित शीर्ष स्थानमा छ र उपाधि होडमा अघि रहेको छ ।

पुलिसलाई पराजित गरेपछि विराटनगरका प्रशिक्षक पारस चौधरीले आफ्नो रणनीति सदुपयोग भएको भन्दै खुशी व्यक्त गरे । उनले आफ्नो खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए ।

उता पुलिसका प्रशिक्षक सन्जिव जोशीले खेलाडीले आफ्नो स्तर अनुसार खेल्न नसकेको बताए । उनले पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । उनले उपाधिको होडमा यसले ठूलो धक्का दिएको बताए ।

एन्फाले दोस्रो चरणका खेलहरु शनिबारदेखि हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment