
२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडिबाट गरेको भाषण सुनेर संघीयताविरोधी एवं राजावादीहरु निराश बनेका छन् । प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको आफ्नो प्रतिवद्धता दोहोर्याएपछि राजावादीहरु असन्तुष्ट एवं निराश बनेका हुन् ।
प्रधानमन्त्री ओलीले शुक्रबारको सम्वोधनमा संविधानविरोधी, संघीयताविरोधी तथा राजावादीहरुलाई निराश बनाउँदै भने, ‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ ।… कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो–बढ्यो ।’
सभामा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्धता जनाए । संविधानले प्रत्याभूत गरेको व्यवस्थाले विकासको यात्रालाई फाइदा पुग्ने उनले बताए । कोभिड महामारीका बेला स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गरे । र, नेपालमा राजतन्त्र नफर्किने, संघीय गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताए ।
संविधानप्रतिको ओलीको यस्तो प्रतिवद्धताले संविधानविरोधी, संघीयताविरोधी दक्षिणपन्थी शक्तिहरु निराश बनेका हुन् । ओलीको भाषण सुनेपछि राप्रपाका नेता मोहन श्रेष्ठले अब भ्रममा बस्न नहुने बताएका छन् ।
यो पनि पढ्नुहोस् – प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?
राप्रपा नेता श्रेष्ठले भनेका छन्, ‘आफ्नो तागत निर्माण गर्ने बेला घरभित्र बसेर आन्दोलनलाई धारे हात लगाउने र नेतृत्वलाई बदनाम गर्न समय र शब्द खर्चनेहरु कसैले हिन्दुराष्ट्र र राजसंस्थाबारे महत्त्वपूर्ण घोषणा गरिदिन्छन् भन्ने ठूलो भ्रममा थिए ।…. बेलैमा सोचेर एकजुट हुन ढिला नगरौं, आफैंले सामर्थ्य निर्माण गरौं ।’
केपी ओली अब संघीयतालाई खारेज गरेर हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्छ भन्दै आएका एकजना राजावादी बुद्धिजीवीले ओलीको भाषण सुनिसकेपछि सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिए, ‘आमसभामा केपीले आफू पनि क्रान्तिकारी भएको कुरामा खर्चिएको समयको पाँच प्रतिशत मात्र देशभक्त राष्ट्रवादी पक्षलाई दिनुभएको भए राजनीतिकरुपले ज्यादा लाभप्रद हुन सक्थ्यो ।’
उनले अगाडि भनेका छन्, ‘आज उहाँको सभामा जानेहरूमध्ये ठूलो संख्यामा देशभक्त र राष्ट्रवादीहरू पनि थिए, तिनको पनि मन राखिदिएको भए राम्रै हुन्थ्यो ।’
धर्म र विप्लव समूहबारे मौनता
प्रधानमन्त्री ओली धर्म निरपेक्षता वा हिन्दु धर्मका बारेमा कुनै शब्द उच्चारण गरेनन् । उनले पशुपतिनाथ वा राममन्दिरको पनि चर्चा गरेनन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीले विप्लव माओवादीका बारेमा पनि केही बोल्ने अनुमान गरिएको थियो । तर, उनले विल्लव समूहको न त आलोचना गरे, न शान्ति प्रक्रियामा आउन आग्रह नै गरे ।
त्यस्तै चुनाव चाहियो भनेका प्रधानमन्त्री ओलीले बैशाखमै चुनाव हुन्छ भनेर आश्वस्त गराउने कुनै शब्दावली प्रकट गरेनन् । न त गृहमन्त्री र उपप्रधानमन्त्रीले नै चुनावको तयारीबारे बोले ।
सभामा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अर्थ मन्त्री विष्णु पौडेल पनि सहभागी थिए । तर, उनीहरुले सभालाई सम्वोधन गरेनन् । संसद विघटनबारे सुवास नेम्वाङले जनतालाई केही बताउने अपेक्षा कतिपयले गरेका भएता पनि उनी अहिलेसम्म यसबारे मौन रहँदै आएका छन् ।
यो पनि पढ्नुहोस् – प्रधानमन्त्रीको ‘शाकाहारी’ भाषण स् न उखान, न गाली !
प्रतिक्रिया 4