Comments Add Comment

म्यानमारमा सन् २००७ यताकै ठूलो आन्दोलन

२५ माघ, काठमाडौं । म्यानमारमा सैन्य ‘कू’विरुद्ध आइतबार दोस्रो दिन पनि हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार म्यानमारमा सन् २००७ मा भएको बौद्ध धर्मगुरुको अगुवाइमा भएको आन्दोलनयताकै यो सबैभन्दा ठूलो आन्दोलन हो ।

म्यानमारको वित्तीय राजधानी यान्गोनका सडकमा राता बेलुनहरुसहित मानिसहरुले प्रदर्शन गरिरहेका छन् । रातो रङ्गले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको एनएलडी पार्टीलाई संकेत गर्छ । प्रदर्शनकारीहरुले प्रजातन्त्रको माग गर्दै सैनिक शासनको विरुद्धमा नाराबाजी गरिरहेका छन् ।

गत सोमबार म्यानमारको सेनाले प्रजातन्त्रवादी नेता तथा सांसदहरुलाई पक्राउ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो । सोमबार भएको ‘कू’पछि शनिबार पहिलोपटक ठूलो संख्यामा मानिसहरु प्रजातन्त्र बहालीको माग गर्दै सडकमा आएका थिए । सरकारले आन्दोलनलाई रोक्न इन्टरनेट सेवा र फोनको लाइन बन्द गरेको थियो ।

आइतबार भएको प्रदर्शनको विषयमा म्यानमारको सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । म्यानमारमा भएको सैन्य ‘कू’को विश्वभर आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment