Comments Add Comment

अवरुद्ध त्रिभुवन राजपथ खुल्यो 

२५ माघ, टिस्टुङ । सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो ।

मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ जमेका कारण आइतबार बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौंडा र काठमाडौँबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए ।

सडकमा हिउँ जम्नाका साथै आइतबार बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए । हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होशियारीका साथ सवारी साधन चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ ।

जिप दुर्घटना हुँदा मृत्यु    

गएराति मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर जिप दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरकोे टाटासुमो गोलमोडबाट हिउँमा चिप्लिएर खसेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका–२ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गए राति हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेमा वीरगञ्ज–१३ का ३० वर्षीय मनोज साह, उनकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई–१० का ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाशी–७ का ३२ वर्षीय मधुकर यादव छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा सामान्य घाइते भएका घर गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

गत माघ १० गतेदेखि हेटौंडा–काठमाडौँ चल्ने छोटो मार्ग भीमफेदी–कुलेखानी स्तरोन्नति भइरहेकाले बन्द रहेका कारण सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

यो पनि पढ्नुहोस हिउँ परेपछि हेटौंडा–काठमाडौं यातायात अवरुद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment