Comments Add Comment

प्रधानन्यायाधीश जबराले झोक्किँदै भने– छोडिहाल्नुस्, बन्द गरिहाल्नुस्

फाइल तस्वीर

२६ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार बहस सुरु भएदेखि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समय पालनामा कडाइ गरेका छन् ।

सुरुमा बहस गर्न आएका ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेट समय तोके । उनले ३० मिनेट बहस गरेपछि प्रधानन्यायाधीश जबराले बहस टुंग्याइहाल्न आग्रह गरे । ३० मिनेटपछि बहस अघि बढाउन थाल्दा भट्टराईलाई बाँकी विषय बहस नोटमा दिनुस्, अर्को साथीलाई गाइड गर्नुस् भनिरहे ।

भट्टराईले म टुंग्याइहाल्छु भन्दै बहस अघि बढाउन खोज्दा प्रधानन्यायाधीश जबरा आवेशमा नै आए । ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’ भनी प्रश्न गरे ।

भट्टराईपछि बहसमा आएका अधिवक्ता महेश नेपालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हुने भन्दै बहस गर्दै थिए । जबराले उनलाई पनि रोक्दै भने, ‘यो विषय धेरैचोटि आइसक्यो ।’

तेस्रो नम्बरमा बहस गर्न आएका सीपी रेग्मी सुरुदेखि नै दबावमा परे । उनी सिटबाट उठेर पोडियममा पुगे र फेरि झोला र कागजपत्र लिन आफ्नो सिटमा फर्किए । उनी २/३ पटक नै ओहोर/दोहोर गरेपछि जबराले भने, ‘छिटो आउनुस्, त्यसो गर्दागर्दै तपाईंको टाइम सिद्धियो ।’

रेग्मीले बहस थालेपछि उनले फेरि भने, ‘मुख्य बुँदा भनेर बहस नोट दिँदा हुन्छ ।’ रेग्मीको १५ मिनेट समय सकिएपछि जबराले भनिहाले, ‘ठीकै छ अब बस्नुस् (हाहाहा…) ।’

रेग्मी अझै रोकिएनन् । उनी पनि संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको अधिकार हुने विषयमा विभिन्न देशको उदाहरण दिँदै थिए । जबराले फेरि भने, ‘सिद्धियो केही भन्नै परेन ।’

रेग्मीले ‘अन्त्यमा’ भन्दै अमेरिकाको उदाहरण दिन थाले । जबराले झोंक्किदै भने, ‘छोडिहाल्नुस्, बन्द गरिहाल्नुस् ।’

प्रधानन्यायाधीशले हिजो नै प्रधानमन्त्रीको पक्षबाट बहस गर्ने वकिलहरुलाई माघ ३० भित्र बहस सक्न आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment