Comments Add Comment

म्यानमारमा रोकिएन आन्दोलन, राष्ट्रव्यापी हडतालमा उत्रिए कर्मचारी

Photo Credit : REUTERS

२६ माघ, काठमाडौं । म्यानमारमा सोमबार लगातार तेस्रो दिन पनि हजारौं मानिसहरुले सैन्य ‘कू’को विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । सोमबार म्यानमारका कर्मचारीहरु पनि राष्ट्रव्यापी आन्दोलनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका मानिसहरुले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गरिरहेका छन् । प्रदर्शनकारीहरुले मुलुकमा पुनः प्रजातन्त्रको स्थापनाको माग पनि गरेका छन् ।

म्यानमारको यान्गोन र मन्डालय सहरमा हजारौं मानिसहरु भेला भएका छन् । प्रहरीले आन्दोलन दबाउन पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ । गत साता सोमबार म्यानमारको सेनाले गत नोभेम्बरमा भएको निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सत्ता आफ्नो हातमा लिएको थियो । साथै म्यानमारको सरकारका अधिकारीहरु तथा सांसद्हरु पनि पक्राउ परेका थिए ।

सेनाले सत्ता आफ्नो हातमा लिएसँगै एक वर्षको लागि संकटकाल घोषणा गरेको थियो । प्रजातन्त्रवादी नेतृ सुकी र राष्ट्रपति विन मिन्टलाई घरमा नै नजरबन्दमा राखिएको छ ।

सोमबार म्यानमारका शिक्षक, बैंकका कर्मचारी, वकिलहरु र सरकारी कर्मचारीहरु पनि प्रजातन्त्रको पुनर्बहालीको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । यसअघि गत शनिबार म्यानमारको सेनाले इन्टरनेटमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, व्यापक दबाबपछि आइतबारबाट इन्टरनेट सेवा पुनः सुरु गरिएको छ । म्यानमारको सेनाले गरेको ‘कू’ को विश्वभर आलोचना भइरहेको छ । विश्वभरका नेताले म्यानमारको सेनालाई आफ्नो कदम सच्याउँदै सत्ता जनताको हातमा सुम्पिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment