२६ माघ, काठमाडौं । चीनमा केही महिनाअघि हिरासतमा लिइएकी अस्ट्रेलियाकी पत्रकार चेङ लेईमाथि जासुसी गरेको आरोप लगाइएको छ । यससँगै चीनले आधिकारिकरुपमा उनलाई पक्राउ गरेको छ । उनले चीनको गोप्य जानकारी विदेश पुर्याउने गरेको आरोप चीनले लगाएको अस्ट्रेलियाको सरकारले पुष्टि गरेको छ ।
हिरसतमा लिनुभन्दा पहिला चेङ चिनियाँ मिडिया सीजीटीएनमा प्रस्तोताको रुपमा थिइन् । अस्ट्रेलियाका अधिकारीले दिएको जानकारीअनुसार चेङलाई गत अगष्टमा हिरासतमा लिइएको थियो भने गत शुक्रबार आधिकारिकरुपमा पक्राउ गरिएको हो । अस्ट्रेलियाले चेङलाई हिरासतमा लिएको विषयमा निरन्तर आपत्ति जनाउँदै आएको छ ।
अस्ट्रेलियाले चेङमाथि न्यायका लागि आधारभूत मापदण्ड पालना हुनुपर्ने, न्याय सम्पादनको काम स्वच्छ हुनुपर्ने र मानव अधिकार पालना हुनुपर्ने माग राख्दै आएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री मेराइज पेनले आफूहरु अहिलेको कठिन समयमा चेङ र उनको परिवारको साथमा रहेको बताएकी छन् ।
चीनमा जन्मिएकी चेङ अस्ट्रेलियाको नागरिक हुन् । उनी पछिल्लो केही वर्षयता चीनमा काम गर्दै आएकी छिन् । उनको अधिकांश परिवार अहिले अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
गत अगष्ट महिनामा उनी एक्कासी टेलिभिजनबाट हराएकी थिइन् र साथीभाइ तथा आफन्तको सम्पर्कबाट हराएकी थिइन् । उनको रोजगारदाताले पनि आफ्नो वेबसाइटबाट उनको प्रोफाइल हटाएको थियो । पछि चीनले उनलाई हिरासतमा लिइएको बताएको थियो ।
प्रतिक्रिया 4