Comments Add Comment

बुधबारको प्रदर्शनपछि प्रचण्ड–माधव समूहले स्वेतपत्र जारी गर्ने

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बुधबारको प्रदर्शनपछि स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले संयुक्त आन्दोलनका लागि स्वेतपत्र जारी गर्ने तयारी गरेको हो ।

‘भोलिको जनप्रदर्शनपछि स्वेतपत्र जारी गर्ने गरी नागरिक अगुवाहरुसँग छलफल गर्दैछौं’, विष्णु रिजालले भने । उनका अनुसार, स्वेतपत्रमा उल्लेख गर्नुपर्ने विषयहरु नागरिक अगुवाहरुकै सुझावमा तयार पारिने भएको छ ।

संसद् विघटन हुने दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेका नेताहरुले स्वेतपत्र जारी नगरेसम्म विश्वास नहुने नागरिक अगुवाहरुले बताउँदै आएका छन् ।

त्यसैले विशेषगरी नागरिक समाजको साथ लिन स्वेतपत्र जारी गर्नतिर यो समूह लागेको हो । दोस्रो चरणको आन्दोलनकै क्रममा २३ पुसमा यो समूहले नागरिक समाजसँग अन्तर्क्रिया गरेको थियो । अन्तर्क्रियामा कृष्ण पहाडी, दमननाथ ढुंगानाले लगायतले स्वेतपत्र जारी नगरेसम्म जनताले आन्दोलनमा साथ नदिने बताएका थिए ।

अहिलेको अवस्था सिर्जना हुनुमा ओलीसँगै समग्र नेकपा नै जिम्मेवार रहेको पूर्वसभामुख ढुंगानाले बताएका थिए । उनले यो आन्दोलन पद प्राप्तिका लागि मात्रै होइन भन्ने प्रष्ट पार्न स्वेतपत्रको आवश्यकता औल्याएका थिए ।

माघ ६ मा प्रज्ञाभवनमै आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकै अगाडि पत्रकार एवम् लेखक नारायण वाग्लेले स्वेतपत्र जारी नगरेसम्म नागरिक समाजले विश्वास नगर्ने बताएका थिए ।

संसद् विघटनविरुद्ध सडक आन्दोलनमै होमिएका नागरिक समाजको सुझाव पछि प्रचण्ड र नेपालले आफ्नो तर्फबाट भएको गल्तीप्रति क्षमा माग्दै आएका छन् । तर, क्षमासँगै संकल्प गर्न पनि यो समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment