Comments Add Comment

प्रधानमन्त्री ओलीको सनकको सीमा छैन : कृष्ण पहाडी

२७ माघ, सप्तरी । नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको सीमा नरहेको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा मंगलबार मधेसी नागरिक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पहाडीले उनको सनकको शिकार संघीयता र गणतन्त्र समेत हुन सक्ने बताए ।

‘हामी चुप लागेर बसेमा भोलि ओलीले संघीयता र गणतन्त्रमा पनि आगो लगाउन सक्छन्’ उनले भने, ‘आफ्नै दलमा अल्पमतमा परेपछि पार्टीमा आगो लगाइदिनुभयो । संसदमा पनि आगो लगाइदिनुभयो । संविधानमा पनि आगो लगाइदिनुभयो । भोलि संघीयता र गणतन्त्रमा पनि आगो लगाउन सक्नुहुन्छ ।’

संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नै नगरेको अवस्थामा एक्कासी संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक काम गरेको उनले बताए । यसविरुद्व मौन रहनु देशमा आएका उपलब्धीका लागि घातक रहेको पहाडीले बताए ।

प्रधानमन्त्रीले द्वैध चरित्र प्रदर्शन गरिरहेको भन्दै उनले कहिले भारतले सरकार ढलाउन खोजेको भन्ने त कहिले भारतकै गुप्तचर संस्थाका प्रमुखसँग गोप्य भेटघाट गर्ने गरेको टिप्पणी गरे ।

संसद विघटन मुद्दामा प्रधानमन्त्रीको पक्षमा बहस गर्ने सरकारी वकिलले पनि आपत्तिजनक कुरा गरेको उनले बताए । ‘सरकारी वकिलले संविधानमा व्यवस्था छैन र प्रधानमन्त्रीलाई हिजोको राजाको जस्तै अधिकार रहेको भन्नु आपत्तिजनक हो’ पहाडीले भने ।

कार्यक्रममा राजनीतिज्ञ खुशीलाल मण्डलले अहिलेसम्म भएका उपलब्धीलाई उल्टाउन नै प्रधानमन्त्री केपी शर्मा ओलीले यो कदम चालेकाले यसको विरोधमा सबै आउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment