Comments Add Comment

पिसाब गर्न गएकी बालिकामाथि सामूहिक बलात्कार

घटनामा संलग्नहरु भारततिर भागेको आशंका

२८ माघ, विराटनगर । मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्रहरीले जानकारी पाएको थियो ।

करिब तीन घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । मोटरसाइकलमा लिएर गएकाहरुले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए ।

घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

‘बालिकालाई लगेपछि गाउँलेहरु खोजी गर्न निस्किएछन् । गाउँले निस्कदा हल्ला भयो’ थापाले भने ‘हल्ला भएपछि आरोपीहरु मोटरसाइकल छाडेर भारत भागे ।’ घटनामा संलग्नहरुको पहिचान भइसकेको बताउँदै उनले खोजी कार्य सुरु गरेको बताए ।

घटनास्थल नेपालभारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर नेपालतर्फ पर्छ । हल्ला भएपछि उनीहरु राति नै भारततर्फ भागेको प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई युवकको खोजी गरेको छ । ‘सोमबार दिउँसो उनीहरु मोटरसाइकलमा घुमिरहेका थिए’ बालिकाका छिमेकीले भने ‘दुबैजना छिमेकी टोलका हुन् ।’

समयमा नै थाहा पाउन नसक्दा आरोपी भागेका प्रहरीको भनाइ छ । ‘गाँउलेले सुरुमा जानकारी गराएको भए घटनामा संलग्नहरु राति नै पक्राउ पर्थे,’ प्रहरी निरीक्षक थापाले भने ‘मोटरसाइकल चाहिँ भेटिएको छ, आरोपीको खोजी कार्य जारी छ ।’

बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मंगलबार जाहेरी दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफहाउसमा राखिएको प्रहरी निरीक्षक थापाले बताए ।

कानेपोखरीमा बलात्कृत किशोरी बेहोस

मोरङको कानेपोखरीमा पनि एक किशोरी बलात्कृत भएकी छन् । १७ वर्षकी किशोरी बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गत बिहीबार राति भएको उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीसँग किशोरीको दुई साताअघि चिनजान भएको थियो । गत बिहीबार किशोरीलाई घरमा बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भोलिपल्ट बिहान चौधरीले युवतीलाई घर पठाएका थिए । तर युवती चौधरीकै घरनजिक बेहोस भएर लडेकी थिइन् ।

त्यसपछि स्थानीय बासिन्दाले उपचारका लागि लगेपछि किशोरीमाथिको बलात्कारको घटना सार्वजनिक भएको थियो । कोसी अस्पताल विराटनगरमा उपचार पछि उनी घर फर्किएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment