+
+

एकल बिमा शुल्कमा बेथितिः अभिकर्ता मालामाल, कम्पनीलाई नोक्सान

रोयल आचार्य रोयल आचार्य
२०७७ माघ २८ गते १६:५८

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिको कमजोर नीतिको फाइदा उठाउँदै जीवन बिमा कम्पनीहरुले एकल बिमा शुल्कमा मनपरी गर्ने गरेको पाइएको छ । केहि नयाँ र केही पुराना बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बिमाका अभिकर्ताहरुसँग मिलेर कम्पनीलाई नोक्सान हुने गरी बिमा गर्ने गरेको पाइएको हो ।

बिमा व्यवसाय धेरै देखाउन केही बिमा कम्पनीहरुले एकल बिमा शुल्क लिने गरी पोलिसी जारी गर्ने  र एक वर्ष पछि सरेण्डर (बिमा बन्द) गर्ने अभ्यास गर्ने गरेका छन् । यसरी गर्दा एक वर्षको लागि करोडौ व्यवसाय देखिन्छ तर वास्तविक रकम नआउने र उल्टै सरेन्डर गर्दा कम्पनीलाई नोक्सान भइरहेको पाइन्छ । यसले बिमा क्षेत्रमा एक किसिमको विकृति नै आएको बिमा क्षेत्रका जानकारहरु बताउँछन् ।

शुरुमा बिमाशुल्क आउने भएका कारण बिमा कम्पनीहरुको व्यवसाय राम्रो देखिन्छ । उक्त पोलिसी जारी गरे पछि अभिकर्तालाई कमिसन लगायतका इन्सेन्टिभका विभिन्न शीर्षकमा बिमा कम्पनीहरुले ठुलो रकम खर्च गर्नु पर्ने हुन्छ । कम्पनीले खर्च गरीसकेपछि बिमितले एक वर्षपछि सरेन्डर गर्ने गरेका छन् । खासगरी  व्यवसाय बढी देखाउने होडमा लागेका केही बिमा कम्पनीका सीईओहरु नै यस किसिमको कृत्रिम कारोबार गरिरहेको पाइन्छ ।

धेरै व्यवसाय भएको जस्तो कागजमा देखिने तर पछि सरेन्डर गर्दा कम्पनीको खर्च मात्रै हुने हुन्छ । उता अभिकर्तालाई भने कमिसन तथा प्रोत्साहन समेत गरेर मोटो रकम फाइदा हुने गरेको छ । धेरै व्यवसाय देखाउनकै लागि अभिकर्ताको हित हुने र कम्पनीलाई नोक्सान हुने गरी केही कम्पनीका सीईओहरुले यस्तो कामलाई प्रोत्साहन गरिरहेका छन् ।

जीबन बिमामा तीन किसिमका बिमा शुल्क हुन्छन्, पहिलो- एकल बिमा शुल्क, दोस्रो- प्रथम बिमा शुल्क र तेस्रो- नविकरण बिमा शुल्क । बिमा समितिले केहि वर्ष पहिले एकल बिमा शुल्कलाई प्रथम बिमा शुल्क मान्न नसकिने व्यवस्था गरिदिएको थियो । प्रथम बिमा शुल्कमा राख्न नपाउँदा कम्पनीहरुले १८ प्रतिशत व्यापार प्रबर्द्धन खर्च पाउँदैन थिए । एकमुष्ट कमिसन पाउने र एकैपटक सम्पूर्ण बिमाशुल्क तिर्नु पर्ने भएकोले प्रबर्द्धन खर्च आवश्यक पर्दैन भन्ने मान्यता थियो ।

मानौं तपाईंले १० वर्षका लागि १ करोड रुपैयाँको बिमा गर्नु भयो तर  विभिन्न कारणले एकै पटक बिमाशुल्क तिर्छु भन्नु भयो भने उमेर र बिमा अवधि अनुसार १० देखि १५ प्रतिशत डिस्काउन्ट सहित ८५ लाख सम्म एकमुष्ट रकम तिर्दा त्यो एकल बिमाशुल्क हुन जान्छ । लामो अवधिको बिमा गर्दा विमितले बिमाशुल्क तिर्दा बिमा शुल्कको भोलुम हेरी कमिसनबाहेक पनि १५ देखि १८ प्रतिशतसम्म कम्पनीहरुले अभिकर्तालाई इन्सेन्टिभ दिने गरेका छन् ।

तर १० वर्षका लागि हरेक वर्ष बिमाशुल्क तिर्ने गरी बिमा गर्नु भएको छ र पहिलो वर्षको बिमा शुल्क बुझाउनु भयो भने त्यो प्रथम बिमा शुल्क हुने हो । दोस्रो वर्षदेखि बुझाएको बिमा शुल्कलाई भने नविकरण बिमा शुल्क भनिन्छ ।

एकै पटक १० वटा नयाँ जीवन बिमा कम्पनी थपिएपछि अहिले बिमा कम्पनी वीच  अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ र नयाँ पुराना धेरै जसो कम्पनीले अत्याधिक व्यापार देखाउन एकल बिमा शुल्क र प्रथम बिमाशुल्क वीचमा खेल्न थालेका छन् । प्रथम बिमा शुल्कमा १८ प्रतिशत प्रबर्द्धन खर्च पाइने र एकल बिमा शुल्कमा नपाइने बिमा समितिको व्यवस्था थियो । तर अहिले बिमा समिति चुप लागेर बसेकोले कम्पनीहरुले प्रथम बिमाशुल्कमा मात्र पाइने १८ प्रतिशत इन्सेन्टिभ एकल बिमा शुल्कमा समेत दिएर एकल बिमालाई नोक्सानको व्यापार बनाएको पाइन्छ ।

एक करोडको बिमा गर्दा एकल भुक्तानी व्यवस्थामा जाँदा अभिकर्ताले कम्पनी हेरी ५ देखि ६ प्रतिशत कमिशन पाउछन्। अहिले कम्पनीहरुले एकल बिमामा बिमा समितिको व्यवस्था अनुसार नपाउने इन्सेन्टिभ १८ प्रतिशत दिइरहेका छन् । यसरी ६ प्रतिशत कमिशन र १८ प्रतिशत इन्सेन्टिभ गरी २४ प्रतिशत अभिकर्ताले पाईरहेका छन् ।

१ करोडको बिमामा औसत ८५ लाख पि्रमियम तिर्छन्, त्यस्को २४ प्रतिशतको हिसावले २० लाख जति अभिकर्ताले इन्सेन्टिभ पाउँछन् । ८५ लाख पि्रमियमबाट २० लाख घटाउँदा  ६५ लाख बाँकी हुन्छ । यो ६५ लाख तिर्नको लागि अभिकर्ताले १ वर्ष पछि सरेन्डर भ्यालुको ९० प्रतिशत सम्म हुने गरी कि त एजेन्ट कर्जा लिन्छन् वा एकमुष्ठ बिमा कम्पनीबाट नै करोडौं कर्जा लिएर सोही कर्जाबाट बिमाको प्रिमियम तिरेर बिमा पोलिसी काट्छन् र १ वर्ष पछि सरेन्डर भ्यालु लिएर बिमा बन्द गर्छन् ।

यसरी एकल बिमा र कर्जाको आवरणमा कृत्रिम बिमा बनाई करोडौं हैन, अर्बौ व्यवसाय देखाइने गरेको छ । अर्को तर्फ बीमितसँग कुनै बिमा शुल्क नलिएर वा न्यून १/२ लाख लिएर करोड करोडको बिमा गर्ने, एक वर्ष पछि सरेन्डर गरी एउटा बिमा बाट ५ देखि १० लाख कमाइरहेका छन् ।

यसरी केही नयाँ र केही पुराना बिमा कम्पनिहरुले व्यापार देखाउनकै लागि कम्पनीलाई वर्षेनी करोडौं नोक्सान गराउने र चलाख अभिकर्ताहरुलाई १ वर्षे कृत्रिम व्यापार बाट करोडौ फाइदा पुर्याउँदै आएको पाइन्छ । अझ रमाइलो त के छ भने यस्ता कृतिम व्यापारबाट बिमा क्षेत्रको अत्याधिक व्यापार देखाउन पाउँदा बिमा समिति मख्ख परेर चुप लागेर तमासा हेरी रहेको छ । अर्को तर्फ बीमित रकम नै नतिरेर करोडौको जोखिम कभर गराउन पाउँदा रमाएका छन् ।

कृत्रिम कारोबारबाट यसरी सजिलै कमाउन पाउँदा अभिकर्ताहरु आम सर्वसाधारणको सानो-सानो बिमा गर्न छोडेर ठूला-ठूला एकल बिमाको खोजीमा लागेको देखिन्छ । विकृति त कस्तो देखियो भने मेडिकल र नागरिकता दिए मात्र पनि करोडौ करोडको बिमा हुने गलत प्रवृतिले प्रोत्साहन पाउँदै गएको छ । वास्तविक साना-साना व्यवसाय गर्ने अभिकर्ताहरु हतोत्साहित हुँदैछन् ।

जीवन बिमामा यो सबै विकृतिको मूल कारण एकल बिमालाई प्रथम बिमा शुल्कमा जोडेर १८ प्रतिशत इन्सेन्टिभ दिनु हो । कम्पनीले २० लाख भन्दा बढीको सम्पत्ति किन्दा बिमा समितिको अनिवार्य स्वीकृति लिनुपर्छ । तर अभिकर्ता कर्जाको हकमा कुनै व्यवस्था नहुँदा कर्जामा पनि मनपरी भैरहेको पाइन्छ । त्यसैले अव दिने कर्जामा पनि उचित व्यवस्था हुनु जरुरी छ ।

बिमा समितिले यी दुवैलाई नियमन नगरेकोले जीबन बिमा कम्पनीहरुमा डरलाग्दो माफियाकरण हुदै गएको छ । त्यसैगरी यो प्रबृतिले गर्दा कम्पनीहरुलाई सहि व्यवसाय भन्दा गलत व्यवसाय गर्न प्रोत्साहन गरिरहेकोले जीवन बिमा कम्पनीहरुको भित्र-भित्र वित्तीय अवस्थामा कमजोर हुँदै गएको छ ।

जसको ज्वलन्त उदाहरण अर्बौं व्यापार गर्ने जीवन बिमा कम्पनीहरुको पोलिसी बोनस एकदम कम आउने गरेको छ । कम्पनीहरुको वित्तीय अवस्था स्वस्थ नहुने भएकोले बीमितको लामो अवधिको लागि लिइएको निक्षेप (बिमाशुल्क) जोखिममा पर्दै गैरहेको छ । यस तर्फ बिमा समितिले समयमै सचेत भई आवश्यक कदम चाल्नु जरुरी देखिन्छ ।

१९ वटा कम्पनी बीच अस्वस्थ प्रतिस्पर्धा भइ यस्तो विकृति देखिन थालेकोले अस्वभाविक व्यवसाय बृद्धि हुने कम्पनीको व्यवसायको सुक्ष्म अध्ययन गरी यस्तो कृत्रिम व्यवसाय र कम्पनी डुवाउने खेल लाई बिमा समितिले समय मै नियन्त्रण गर्नु जरुरी छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment