+
+
Shares

रोकिएला त एकल बिमा शुल्कको बेथिति ?

अध्यक्ष भन्छन्- बेथिति चाडैं हट्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते ११:११

२९ माघ, काठमाडौं । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्य सिलवालले एकल बिमा शुल्कका नाममा भइरहेको बेथितिबारे ‘एक्सन’ लिने बताएका छन् । पछिल्लो समय बिमा कम्पनीहरुले व्यवसाय धेरै देखाउनका लागि एकल बिमा शुल्क पोलिसी बिक्री गर्न जोडबल गर्ने गरेका छन् ।

बिमा समितिका अध्यक्ष सिलवालले यो विषयमा आफूले पनि जानकारी पाएको र एक्सन लिने तयारी भइरहेको बताएका छन् । बिमा समितिले केही वर्षअघि एकल बिमा शुल्कलाई प्रथम बिमा शुल्कमा गणना गर्न दिने व्यवस्था गरिदिएको थियो ।

यही कमजोरीलाई फाइदा उठाउँदै बिमा कम्पनीहरुले एक वर्षका लागि कृतिम बिमा व्यवसाय खडा गर्ने गरेका छन् । व्यवसाय धेरै देखाउनका लागि गरिएको यो बिमा एक वर्षमा नै सरेण्डर (बिमा बन्द) गराउने गरिएको छ । यसले बिमा कम्पनीलाई ठूलो आर्थिक नोक्सान हुने गरेको छ भने एजेण्टहरुलाई निकै राम्रो फाइदा हुने गरेको छ ।

बुधबार बिमा समितिले बिमा कम्पनीहरुलाई यो किसिमको बेथिति तत्कालै रोक्न निर्देशन दिएको छ । तर एउटा सूचना निकाले एकल बिमा शुल्कमा देखिएको बेथिति रोक्नु भनेर कुनै कम्पनीले टर्नेवाला भने छैनन् । बिमा समितिको यो निर्देशन झारा टार्नका लागि मात्रै भएको जानकारहरु बताउछन् ।

अध्यक्ष सिलवालले भने यो झारा टार्नका लागिमात्रै नभएको बताए । ‘यो गलत अभ्यास हो, हामीले बिमा कम्पनीहरुको धारण बुझ्नका लागिमात्रै पहिलो चरणमा यो निर्देशन दिएका हौ,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘३ दिनसम्म कुरौं, कस्तो प्रतिक्रिया आउँछ त्यसपछि कारबाही हुन्छ ।’

कारबाही हुनेमा सबै ढुक्क भए हुने अध्यक्ष सिलवालले बताए । बिमा कम्पनीहरुको यो परिपाठीले शुरुमा बिमा शुल्क आउने भएका कारण बिमा कम्पनीहरुको व्यवसाय राम्रो देखिन्छ । उक्त पोलिसी जारी गरे पछि अभिकर्तालाई कमिसनलगायतका इन्सेन्टिभका विभिन्न शीर्षकमा बिमा कम्पनीहरुले ठूलो रकम खर्च गर्नु पर्ने हुन्छ ।

कम्पनीले खर्च गरीसकेपछि बिमितले एक वर्षपछि सरेन्डर गर्ने गरेका छन् । खासगरी व्यवसाय बढी देखाउने होडमा लागेका केही बिमा कम्पनीका सीईओहरु नै यस किसिमको कृत्रिम कारोबार गरिरहेको पाइन्छ ।

धेरै व्यवसाय भएको जस्तो कागजमा देखिने तर पछि सरेन्डर गर्दा कम्पनीको खर्च मात्रै हुने हुन्छ । उता अभिकर्तालाई भने कमिसन तथा प्रोत्साहन समेत गरेर मोटो रकम फाइदा हुने गरेको छ । धेरै व्यवसाय देखाउनकै लागि अभिकर्ताको हित हुने र कम्पनीलाई नोक्सान हुने गरी केही कम्पनीका सीईओहरुले यस्तो कामलाई प्रोत्साहन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?