Comments Add Comment

‘भाइरल’ भएपछि सांगीतिक बजारमा तानातानः भ्यूजको लोभ कि प्रतिभालाई स्थान ?

गायक अलिफ खान एक महिना अघिसम्म गुमनाम थिए । १० बर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत भएपनि कसैको नजरमा नपरेका अलिफ, एक युटुबमा अन्तरवार्ता दिएपछि सबैको नजरमा परे । उनलाई लिएर गीत रेकर्ड गर्न धेरै निर्माता लालयित छन् ।

संगीतकार अर्जुन पोखरेलको संगीतमा अलिफले दुइवटा गीत रेकर्ड गराइसकेका छन् । जसमध्ये, एक गीतको भिडियोको समेत छायांकन भैसकेको छ । ‘धेरैले अफर गरिरहनुभएको छ । तर, अर्जुन दाइसँगका गीत सार्वजनिक भएपछि मात्रै छनोट गरेर अन्य गीतहरु गाउनेछु’– अलिफले अनलाइनखबरसँग भने ।

अलिफले तीन दर्जन बढी गीतको अफर आएको बताए । उसो त अलिफ संगीत समेत भर्छन् । अलिफको संगीतमा गायक प्रमोद खरेलले गीत रेकर्ड गराइसकेका छन् । अलिफ जस्तै, पछिल्लो केही महिनादेखि ९ बर्षिय बालक सचिन परियार पनि चर्चामा छन् । उनी पनि एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि नै भाइरल भएका हुन् ।

उनले रमाईलो तरिकाले बोल्ने शैली तथा आनीबानीलाई दर्शकले रुचाए । उनका अन्रवार्ताले लाखौ भ्यूज पाएपछि उनीमाथि पनि लगानी गर्न धेरै लगानीकर्ता कस्सिए ।

उनको आवाजमा ‘ओठ खोलेर’बोलको गीत सार्वजनिक भयो । त्यसपछि ‘रातो रबर’ हुँदै सचिनले नायक राजेश हमालसँग समेत भिडियो खेले । गायिका अस्मिता अधिकारी, रचना रिमाल, समीक्षा अधिकारीसँग उनले गीत गाइसकेका छन् । उनले सिरियलमा पनि अभिनय गरिसकेका छन् ।

पछिल्लो एक महिनामा एक दर्जन बढी भिडियोमा उनले काम गरिसकेका छन् । अहिले पनि सांगीतिक बजारमा गीत गाउन र अभिनय गराउन सचिनको तानातान छ । उनी दिनहुँ नयाँ–नयाँ म्युजिक भिडियो खेलिरहेका छन् ।

अहिले सचिनलाई एउटा भिडियोमा खेलाए बापत ३० देखि ४५ हजार रुपैयाँसम्म पारिश्रमिक दिनुपरेको निर्देशकहरु बताउँछन् । ‘अहिले म्युजिक भिडियोमा सचिनलाई खेलाउन चाहनेहरु धेरै छन् । त्यसैले पारिश्रमिक पनि धेरै माग्न थालेका छन् । उनलाई गीत गाउन र भिडियोमा खेलाउन अफर गर्दा ४५ हजार रुपैयाँसम्म पारिश्रमिक मागिन्छ’ –एक निर्देशकले अनलाइनखबरसँग भने ।

अलिफ र सचिन जस्तै युटुब, फेसबुक वा कुनै न कुनै माध्यमबाट भाइरल हुनेहरुलाई सांगीतिक बजारमा तानातान गरिने प्रवृत्ती पुरानो हो । दुई वर्ष अगाडिमात्रै बखत विष्ट, झक्कड थापा, नरेश पातली, मुना मगरहरु यसैगरी ‘भाइरल’ थिए ।

त्यो समय उनीहरुलाई गीत गाउन तथा म्युजिक भिडियो खेलाउन चाहनेहरु प्रशस्त थिए । तर अहिले उनीहरु कहाँ छन् कमैलाई थाहा होला । ‘भाइरल’ भएर आएका धेरैजना त्यसरी नै हराएका छन् ।

लकडाउनको समयमा बच्चा बोक्दै रिक्सा चलाएको तस्वीरका कारण भाइरल बनेका अर्जुन बिकलाई समेत केहीले म्युजिक भिडियोमा अभिनय गराएका थिए ।

भ्यूजको लोभ कि प्रतिभालाई स्थान ?

सामाजिक सञ्जालमा ‘भाइरल’ भएकाहरुलाई गीत गाउन लगाउँदा तथा भिडियो खेलाउँदा ‘भ्यूज’ बढी हुने लगानीकर्ताहरुको भनाई छ । उनीहरुका भिडियोहरुमा दर्शक रमाइरहेको हुनाले सुरुवाती चरणका केही गीतहरुको भ्यूज पनि राम्रो जाने लगानीकर्ताहरु बताउँछन् ।

कोरोनाका कारण सांगीतिक बजार युटुबबाट आउने रकममा नै आश्रित छ । यसैले पनि भ्यूजको पछि दौडन परेको लगानीकर्ताहरु बताउँछन् । ‘हाम्रो त ब्यवसाय हो । अहिले भाइरलले गाएको, उनीहरु खेलेकै भिडियोहरु दर्शकले बढी हेरिरहेका छन्’ सचिन परियारलाई भिडियोमा खेलाएका एक लगानीकर्ताले भने ।

संगीतकार अर्जुनले आफूले अलिफलाई ‘भाइरल’ भएकै कारण मात्र नलिएको बताउँछन् । ‘उनीसँग प्रतिभा पनि छ । प्रतिभा भएकै कारण सहकार्य गरेका हौं । भाइरलकै पछि लाग्ने भए मैले यसअघि पनि काम गर्थेँ होला’– अर्जुनले भने ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनी ‘भाइरल’ भएकै कारण पछि दौडिनुभन्दा पनि प्रतिभा भएकाहरुलाई स्थान दिनुपर्ने बताउँछन् । उनले प्रतिभा भएकाहरु स्टुडियो, सांगीतिक प्रतियोगीताहरुमा मात्र नभेटिने बताउँदै भने–‘प्रतिभा भएकाहरु गाउँघरतिर, सामाजिक सञ्जालमा पनि भेटिन्छन् ।’

पंगेनी आफ्नो फाइदाको लागि मात्रै कसैले भाइरल भएकाहरुलाई ‘मिस युज’ गर्न नहुने बताउँछन् । ‘भाइरल भएका कतिपयसँग राम्रो प्रतिभा पनि छ । उनीहरुको प्रतिभा चिनेर स्थान दिनुपर्छ । तर आफ्नो फाइदाको लागि जस्तालाई पनि प्रतिभा भन्नु राम्रो होइन ।’

अहिले ‘भाइरल’ भएकाहरुको भविष्यका बारेमा सोचेर अगाडि बढाउनुपर्ने बद्रीको तर्क छ । नत्र उदाएका प्रतिभाहरु केही समयमै हराउने उनी बताउँछन् । युटुबमा भाइरल भएपछि गीतसंगीतमा आएका केही कलाकारहरुले भने आफूलाई स्थापित गराइसकेका छन् ।

‘भाइरल’ भएरै आएका रचना रिमाल, समीक्षा अधिकारी आज सांगीतिक क्षेत्रमा व्यस्त गायिकामा गनिन्छन् । किनकी उनीहरुको गायन प्रतिभाले जो कोहीलाई लोभ्याउँदै आएको छ ।

अशोक दर्जीका गीतहरु आजपनि युट्युबमा लाखौंले हेर्छन् । कमला घिमिरेका गीतहरुलाई दर्शकले निकै मन पराउँछन् । तर, प्रतिभा नै नभएकाहरुलाई भाइरल भएका आधारमा स्थान दिदा केही समय त भ्यूजले मख्ख पार्ला, तर यसले सांगीतिक र मोडलिङ क्षेत्रका लागि खासै कुनै उपलब्धी भने गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment