Comments Add Comment

‘चाडपर्व बिदामा सरकारको मनलाग्दी’

३० माघ, काठमाडौं । चाडपर्व बिदामा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टि बढेको छ । सरकारले कहिले बिदा खारेज गरिदिने, कहिले सार्वजनिक बिदा दिने गरेपछि असन्तुष्टि बढेको हो ।

आदिवासी जनजाति महासंघले विज्ञप्ति नै जारी गरी चाडपर्व बिदाको विषयमा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले सोनाम ल्होसारको अवसरमा जारी गरेको शुभकामना सन्देशमा जनजातिका मुख्य पर्वमा सरकारले मनलाग्दी गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले मन लाग्दा राष्ट्रिय बिदा दिने र मन नलाग्दा खारेज गर्ने कार्यको हामी निरन्तर खबरदारी गर्दछौं,’ शुभकामना सन्देशमा भनिएको छ ।

सरकारले यो वर्ष सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष भने सरकारले बिदा कटौती गरिदिएको थियो ।

जनजातिले मनाउने मुख्य पर्वमा बिदा कटौती भएपछि त्यसबेलादेखि नै विभिन्न जातीय संगठन र आदिवासी जनजाति महासंघले सरकारको विरोध गर्दै आएका थिए ।

यस्तै, शेर्पा समुदायले पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ । नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामाले विज्ञप्ति जारी गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

अध्यक्ष शेर्पाले सरकारले हिमाली आदिवासी शेर्पाहरुको मूख्य पर्वको तिथि बिगारेर अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् ।

शेर्पा समुदायको मुख्य पर्व ग्याल्बो ल्होसार माघ ३० गते आजकै दिन पर्ने भए पनि सरकारले चैत १ गते राखेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

राष्ट्रपति, प्रधानमन्त्री लगायतले आजै परेको तामाङ समुदायको सोनाम ल्होसार पर्वमा शुभकामना सन्देश जारी गरे पनि ग्याल्बोको भने शुभकामना दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment