Comments Add Comment

‘प्रधानमन्त्रीलाई ट्याउँ–ट्याउँको अर्थ बुझाउन चाहन्छौं’

३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै महिला आवाजलाई ट्याउँ–ट्याउँको संज्ञा दिएको भन्दै अधिकारकर्मीहरूले विरोध गरेका छन् ।

प्रतिगमनविरुद्ध वृहत नागरिक आन्दोलनद्वारा शुक्रबार काठमाडौंमा आयोजित महिला मार्च कार्यक्रमका वक्ताहरूले प्रधानमन्त्री ओलीले महिला आवाजको सम्मान गर्न नसकेको आरोप लगाएका हुन् ।

महिला मार्चपछि भद्रकालीमा आयोजित सभालाई सम्बोधन गर्दै लेखक डा. अर्चना थापाले भनिन्, ‘महिला उभिएर बोल्न थाल्यो भने हाम्रो सरकारले त्यसलाई ट्याउँ–ट्याउँ भन्छ । के हामीले यस्तै प्रजातन्त्रको कल्पना गरेका थियौं ?’

प्रधानमन्त्री ओलीले नेतृ विन्दा पाण्डेले केही समय पहिले महिलाको पक्षमा आवाज उठाउँदा ‘ट्याउँ–ट्याउँ’ नगर्न चेतावनी दिएका थिए ।

शासकहरूको बोली, शब्द, संकेत आदि पनि बलात्कार लगायतका हिंसाको कारक रहेको उनको भनाइ छ । ‘निर्मला पन्तको हत्यापछि गृहमन्त्रीले सभ्य समाजमा पनि बलात्कार हुन्छ भन्नुभयो । तपाईंलाई लाग्दैन सरकारले बलात्कार संस्कृतिलाई प्रवर्द्धन गर्दैछ ?’

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसद विघटनपछि ‘संविधानमाथि बलात्कार’ भयो, ‘चीरहरण’ भयो भन्ने जस्ता शब्द प्रयोग गर्न नहुनेमा थापाको जोड थियो । यस्ता शब्द, संकेत, उखान टुक्काले हिंसालाई प्रवर्द्धन गर्ने उनले बताइन् ।

लेखक थापाले कार्यक्रममा भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई हामी बोलेको ट्याउँ–ट्याउँ लाग्न सक्छ । हामी त्यही ट्याउँ–ट्याउँ अर्थ नै बुझाउन चाहन्छौं । यो आवाज निभ्न नदिउँ ।’

कार्यक्रममा मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, हिमा विष्ट, रजनी मिलालगायतले प्रतिगमनको विरोध गरेका थिए । सम्साद आदिल, सपना संजिवनी, सन्ध्या बज्राचार्यलगायतले कविता सुनाएका थिए ।

महिला हिंसाको विरोध र संसद पुनर्स्थापनाको माग गर्दै शिल्पी थिएटरका कलाकारले नाकट मञ्चन गरेका थिए भने आभा फर क्रियटिभिटीले पर्फमेन्स आर्ट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment