Comments Add Comment

जब मेरो कहानीको उदेकलाग्दो ‘दुःखान्त’ हुन्छ

‘ओइ मुला, आज फिल्म देखाउँछु भनेको हैन ?’ बिदुरले गुच्चा खेलेको ठाउँमै गुप्त रहस्य खोलिदियो । मलाई सरम लाग्यो । वाक्य फुटेन । अघिल्लो साँझ खेल्दै गर्दा उसँग मैले ‘फिल्म देखाउने’ कुरा गरेको थिएँ ।

चैत्र–वैशाखको याम । लेकको घाम उति रापिलो हुँदैन । बरु बेलाबखत बेपत्तासँग बतास चल्छ । भर्खर फक्रिदै गरेको आरुबखडाको फूलहरुसँगै धुलो उड्छ । धुलोले हामी केटाकेटी धुस्रोफुस्रो हुन्छौं । हातको छाला खस्रो भएको छ । सिँगान पुछ्दा–पुछ्दा नाक मुनिको भाग रातो भएको छ । यस्तो हुलियामा सुकिलो माटो खोज्दै हिँड्छौं, गोजीभरि गुच्चा बोकेर ।

ओभानो ठाउँमा गुच्चा खेल्न गाउँभरका केटाकेटी नियमितजसो हाजिर हुन्छन् । कोही खेलाडी, कोही रमिते । सानोभाइ उर्फ त्रिविक्रम गुच्चाका तगडा खेलाडी । उनको खल्ती भरिन्छ । बाँकी गुच्चा मुखभित्र बोक्छन् । गुच्चामा धुलो र घोडाको मलमूत्र दलिएको छ भन्ने कुराको के मतलब ? बस्, चोर औंलाले फित्कौली बनाएर हानेको गुच्चाले बेतोडसँग निसाना बनाएको गुच्चालाई टक्कर दिनु पर्यो ।

‘देखाउँछस् ?’ बिदुर मलाई छाड्नेवाला छैन ।

हिम्मतसाथ म देखाउँछु को भावमा टाउको हल्लाउँछु । फिल्म देखाउने हल्ला फैलन्छ । दौतरीहरुको अवोध एवं जिज्ञासु आँखा ममाथि सोझिन्छ । म दृढ छु । तर, उनीहरुले पत्याए पो !

बिदुरसँगै निर्विकल्प पनि मेरो टिममा सामेल हुन्छन् । दुबै भाई फिल्म हेर्न चाहनेहरुलाई पैसा उठाउने योजना बनाउँछन् । जनही, दुई रुपैयाँ ।

यो त्यति नै ठूलो रकम हो, जतिले श्याम सर वा कमल काकाको घरमा टेलिभिजन हेर्न पुग्छ । गाउँभरमा त्यही दुई ठाउँमा टेलिभिजन छ, चौध इन्चको श्यामश्वेत । तर, टेलिभिजन हेर्ने साइत कहाँ सहजै जुर्छ ?

यसका लागि ब्याट्री चार्ज भएको हुनुपर्छ । एन्टिना र बुस्टरले काम गरेको हुनुपर्छ ।  चित्रलहर, अलिफ लैला, चन्द्रकान्ता, एक से बढकर एक वा फिल्म आउने दिन हुनुपर्छ । त्यसपछि चाहिन्छ, श्याम सर वा कमल काको मुड ।

टेलिभिजन च्यानल भनेको एउटै छ, दिल्ली दूरदर्शन । भारतीय समय आठ बजेको समाचारपछि बल्ल त्यसमा मनोरन्जनको कार्यक्रम सुरु हुन्छ । हतार–हतार भात खाएर हामी टीभी हेर्ने घरमा थुप्रिन्छौं । चिसो भुइँमा पलेटी कसेर व्यग्रतापूर्वक कार्यक्रम पर्खन्छौं । दर्के झरी वा हुरी चल्यो भने खेल खत्तम ।

म कनीकुथी फिल्मको प्लट तयार गर्छु । निलिमालाई पनि यस्तो परिकल्पनामा डुब्न खुब रहर लाग्छ । चिया बगानभित्र पारिलो घाम ताप्दै निलिमालाई कथा सुनाउँछु । तर, उनलाई कथाको ‘क्लाइमेक्स’सम्म पुग्ने धैर्यता हुँदैन

एन्टिना हल्लिन्छ र स्क्रिनमा ‘झिर्ररररर’ आवाज आउन थाल्छ । त्यस्तो स्क्रिनमा पनि हामी एकटकले दृष्टि बिछ्याइरहन्छौं । कतिबेला सिग्नल टिप्छ र धमिलो दृश्य देखिएला भनी एकोहोरिन्छौं ।

गाउँभरका केटाकेटीको भिड लाग्ने, हाँस्ने–छिल्लिने, आँगनमा मुत्र बिसर्जन गरिदिने, भित्तामा चुइगम टाँसिदिने भएकाले हुनुपर्छ, टीभी भएको घरमा हामीले सजिलै प्रवेश पाउँदैनौं । टीभी हेर्नका लागि कहिले पैसा तिर्नुपर्ने हुन्छ, कहिले बाख्रालाई घाँस काटिदिनुपर्ने हुन्छ ।

भीम भाउजू मनकारी छिन् । हामी केटाकेटीको पैसा उनले नै भुक्तान गरिदिन्छिन् । त्यति मात्र कहाँ हो र, हिरो–हिरोइनले हिन्दीमा बोल्ने डायलगलाई नेपालीमा उल्था गरिदिन्छिन् । यी धराने भाउजू हिन्दी फिल्मकी खाँट्टी दर्शक ।

फिल्मको ह्याङओभर हामीमा तीन/चार दिनसम्म रहन्छ । चाहे घाँस–दाउराका लागि जंगल जाँदा होस् वा पढ्नका लागि विद्यालयमा, हामी त्यही फिल्मको डायलग फलाक्दै हिँड्छौं । घत लागेको दृश्य वा पात्रको बखान गर्छौं । स्कुले सहपाठीका अगाडि हिरोइज्म देखाउने चेष्टा गर्छौं । उस्तै परे फाइट खेल्न तम्सिन्छौं ।

काँस फूलेर चिहानडाँडा सेताम्मे हुन्छ । मन्द बताससँगै त्यसका फूलहरु लहराउँछ । कञ्चन निलो आकास र माइपोखरीमाथिको डाँडामा उड्दै गरेका सेता बादलको टुक्राहरु । बाँसका पातहरु आपसमा घर्षण हुँदा एकनासले बज्ने ‘सिर्रर’ ध्वनी । वस्, यति नै काफी छ मिलन र मलाई सुदूर कल्पनामा डुबुल्की लगाउनका लागि ।

हामी त्यो मनोहर पृष्ठभूमिमा फिल्मका नानाभाँती दृश्यहरु बुन्न थाल्छौं । अनि, उन्यु काट्न बोकेको हँसिया मिल्काएर ‘सोचेंगे तुम्हे प्यार कर के नही, यो दिल बेकरार कर के नही’ गाउँदै बेपत्तासँग नाच्न थाल्छौं ।

म कनीकुथी फिल्मको प्लट तयार गर्छु । निलिमालाई पनि यस्तो परिकल्पनामा डुब्न खुब रहर लाग्छ । चिया बगानभित्र पारिलो घाम ताप्दै निलिमालाई कथा सुनाउँछु । तर, उनलाई कथाको ‘क्लाइमेक्स’सम्म पुग्ने धैर्यता हुँदैन । मेरो कथालाई बीचमै मोडेर निलिमाले अन्तैतिर पुर्याइदिन्छन् । मेरा पात्रहरुलाई उनले अर्कै भूमिका बोकाइदिन्छन् । त्यसैले निलिमा र मेरो ‘फिल्म बनाउने’ मनगणन्ते कल्पनाको कहिल्यै ‘ह्याप्पि इन्डिङ’ हुँदैन । अक्सर हावामा उड्छ ।

एक सहपाठी छन्, शरद । हलक्क हुर्किएका उनको अनुहार पनि बान्की मिलेको छ । त्यसैले उनी आफुलाई ‘हिरो’ भन्ठान्छन् । शरदमा ‘हिरो’को भरपुर लक्षण देखिन्छ । बेलामौकामा हामी कटेरामा बसेर फिल्मको अभ्यास गर्छौं । म उनलाई डायलग दिन्छु । ऊ संवादसहितको अभिनय गरिदिन्छन् । त्यसपछि ‘कस्तो लाग्यो त ?’को भावमा उनले आँखीभौं तन्काएर ममाथि जिज्ञासा राख्छ । ‘बबाल’ शैलीमा म टाउको हल्लउँछु । ऊ परम सन्तोष मान्छन् ।

शरदको अर्को विशेषता के भने, टीभीमा देखेको हात–हतियार ऊ दुरुस्तै खिप्न सक्छन् । उसले ‘महाभारत’ मा पाण्डव–कौरवले प्रयोग गर्ने धनुस–बाँण बनाएका छन् । अगाडि तीखो र पछाडि फुर्का भएको । ऊ हाम्रो अगाडि गफ दिन्छ, ‘यसले त मृग पनि मार्छ ।’

विदुरलाई शिकारको खुब सौख छ । एकदिन सरदलाई फकाई–फुल्याई धनुस–बाँण लगेर जान्छ । तर, उसले मृग त के भर्खर ओथराबाट निस्किएको कुखुराको चल्ला पनि मार्न सकेको छैन । शरदले धनुस–बाण फिर्ता माग्छ । बिदुर अनेकथरी गफ दिएर टार्न खोज्छ । शरद ढिपी गर्छन् । आखिर पोल खुल्छ, चल्लालाई ताक्दा–ताक्दै बिदुरले बाँण दुई टुक्रा बनाएछ । त्यसलाई जोड्ने अनेक यत्न गर्दा पनि नभएपछि ऊ आजित हुन्छ । अन्ततः शरदसँग आत्मसर्मण गर्ने निधो गर्छ ।

उनीहरुबीच म नै मध्यस्थकर्ता बन्छु । मिलन र शरदको घरको कुनामा लुसुक्क बसेर हामी एकबुँदे सर्तसहित यो लफडा टुंग्याउँछौं । सर्त छ, ‘जतिबेला विदुरले मेगी चाउचाउ वा दही–चिउरा खान्छ, त्यसको आधा भाग शरदलाई पनि दिनुपर्ने ।’

टर्चको चहकिलो प्रकाश पातलो पर्दा छिचोलेर सोझै हाम्रा आज्ञाकारी दर्शकको आँखा तिर्मिर्याउन पुग्छ । सुरेन र रेखाको बाङ्गो–टिङ्गो छाया त माल्दिदीको घरको सिलिङमा पो सल्बलाउन थाल्छ । हत्तेरी ! ठीक यही बखत घरबाट उर्दी जारी हुन्छ, ‘सिरकको खोल झट्ट ल्याउनु रे’

शरदलाई चाउचाउ र दही–चिउरा ख्वाउँदा–ख्वाउँदा बिदुर गलिसकेका छन् । सम्भवतः ऊ केही नयाँ काम गरेर शरदलाई फकाउन वा हराउन चाहन्छ ।

यद्यपि बिदुरलाई रसरंगमा भने उस्तो चासो छैन । एकदिन म उनलाई जादु देखाइदिन्छु, उनकै टर्च लाइटको सहायताले, उनकै घरको कोठामा । त्यसपछि त बिदुर कुनै आविष्कारकले नयाँ कुरा अन्वेषण गरे झै फुर्किन्छन् ।

बिदुरले ड्याडीको कोठाबाट चार वटा ‘एभरेष्ट’ सेल ब्याट्री लाग्ने ठूलो टर्च लाइट निकाल्छ । टुकी बत्ती बालेर म कालो ध्वाँसो टर्चको सिसामा लगाउँछु । त्यसमा मान्छे वा त्यस्तै आकृति बनाउँछु । विदुर उत्सुकतापूर्वक मेरो चर्तिकला हेरिरहन्छ ।

झ्याल–ढोका बन्द गर्न लगाउँछु । कोठमा निष्पट अध्याँरो छाउँछ । म टर्च बालेर  त्यसको प्रकाश भित्तामा फोकस गर्छु । टर्च लाइट तलमाथि वा बाङ्गो–टिङ्गो बनाउँछु । भित्तामा आकृति नाच्न थाल्छ । बिदुर हेरेको–हेर्यै ।

‘भोलि–पर्सि माल्दिदीको घरमा  फिल्म देखाउनुपर्छ’ मख्ख पर्दै उद्घोष गर्छु । बिदुर विनासर्त र विनातर्क मलाई पत्याउँछन् । उसको साथ पाएपछि मेरो आत्मविश्वास पहाड झैं अग्लिन्छ ।

म कल्पन्छु– टर्चको फोकस गरेर सेतो पर्दामा फटाफट फिल्मको नाम आएको । त्यसपछि पर्दा पछाडि मधुरो पाश्र्व ध्वनि गुञ्जिएको । अनि मान्छेको सग्लो छाँया पर्दामा विभिन्न भावभंगिमा प्रस्तुत भएको । क्या आइडिया !

म यसै मख्ख छु । भात खाँदा, जंगल जाँदा, स्कुलमा पढ्दा, गुच्चा खेल्दा ‘फिल्म देखाउने’ आफ्नै स्वैरकल्पनामा मग्न हुन्छु ।

साँझ छिप्पिन नपाउँदै माल्दिदीको घरमा अड्डा जमाउन पुग्छौं । माल्दिदीको सानो झुपडी हामी केटाकेटीका लागि ठूलो मैदान हो । त्यहाँ जे गर्न पनि छुट छ । केटाकेटीमाथि उनको सधैँ स्नेह र हार्दिकता पोखिन्छ ।

सरोज, सुवास, झमेस, विकल्प, हेमकला, उज्वल, मन्दा, सौरभ, हिमा भएभरका केटाकेटी थुप्रिँदैछन् । भिड यसरी लाग्दैछ, मानौं त्यहाँ गतिलै चटक हुनेवाला छ । सबैजना केटाकेटी चिसो भुँईमा थचक्क बसेका छन्, आज्ञाकारी भएर । अलि नटेर्ने निलिमा, अशोक, अमृता ढोका र झ्यालबाट चिहाइरहेका छन् । सबैको आँखा अघिल्तिरको सेतो पर्दामा जोतिएको छ ।

भित्तामा थोरै खाली ठाउँ राखेर शीरको सेतो खोल टाँगिएको छ । योजनाअनुसार हामीले टर्चलाइट, वाकमेन, अडियो क्यासेट, टुकी बत्तीको बन्दोबस्त गरिसेका छौं । सुरेन र रेखालाई पनि फकाइसकेको छौं, नाच्नका लागि ।

टुकी बत्ती बालेर टर्चको सिसामा कालो पोतेपछि त्यसमाथि उल्टो अक्षरले फिल्मको ‘टाइटल’ लेख्छु । टर्चको प्रकाश पर्दामा फोकस गर्छु । त्यहाँ अक्षर देखिन्छ । तर, मैले कल्पेजस्तो पाश्र्व ध्वनि बज्दैन । अर्थात पर्दा पछाडि लुकाएर वाकमेनमा गीत प्ले गर्ने र टर्च लाइट बाल्ने तालमेल मिल्दैन ।

फिल्म हेर्न बसेका केटाकेटी ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भावमा उठ्न खोज्छन् । हामी उनीहरुलाई धैर्यधारण गर्न लगाउँछौं । त्यसपछि पर्दा पछाडि दुई छेउमा सुरेन र रेखालाई उभिन लगाउँछौं । वाकमेनमा गीत तयार गर्छौं । टर्च लाइटलाई पछाडि मध्य भागमा लगेर राख्छौं । यहाँसम्म सबै कुरा ठीकठाक छ ।

वाकमेनमा रोमान्टिक गीत बज्छ, ‘आँखिया मिलाऊ कभी आँखिया चुराउँ, तुने किया जादू…’

सुरेन र रेखालाई नाच्ने इशारा गर्छु । टर्च लाइट अन गर्छु । तर, मैले सोचें जसरी उनीहरु नाँच्दै गरेको छायाँ पर्दामा प्रतिविम्वित हुँदैन । टर्चको चहकिलो प्रकाश पातलो पर्दा छिचोलेर सोझै हाम्रा आज्ञाकारी दर्शकको आँखा तिर्मिर्याउन पुग्छ । सुरेन र रेखाको बाङ्गो–टिङ्गो छाया त माल्दिदीको घरको सिलिङमा पो सल्बलाउन थाल्छ । हत्तेरी !

ठीक यही बखत घरबाट उर्दी जारी हुन्छ, ‘सिरकको खोल झट्ट ल्याउनु रे ।’ बिदुरको ड्याडी टर्चलाइट खोज्दै त्यही आइपुग्न सक्छन् । केटाकेटी खिसीट्युरी गर्दै हिँड्छन् । हाम्रो अनुहार अरु फुस्रो हुन्छ । हामीले कल्पिएझैँ फिल्म देखाउने योजनाको ‘ह्याप्पी इन्डिङ’ हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment