Comments Add Comment

प्रकाश सपुतदेखि प्रिती आलेसम्म, जसले प्रेम सम्बन्धलाई बिहेमा बदले

नेपाली लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरुले प्रेम विवाह गरेका छन् । कतिपय कलाकारले आफ्नो वैवाहिक जीवनलाई मिडियामा सार्वजनिक गरेका छैनन् भने कतिपयले यो बिषयमा खुलेरै कुरा पनि गर्ने गरेका छन् । प्रेम दिवसको अवसरमा हामीले यहाँ लोकदोहोरी क्षेत्रमा काम गर्ने केही कलाकारको प्रेम र बिहेको बिषयमा चर्चा गरेका छौं । चलचित्रमा जस्तै यो क्षेत्रमा पनि प्रेमलाई बिहेमा परिणत गर्ने श्रष्टा दर्जनौ छन् ।

प्रकाश सपूत र विन्दु बोहरा
लोकगायक प्रकाश सपूतले प्रेम विवाह गरेका हुन् । बाग्लुङका प्रकाशले बाग्लुङकै बिन्दु बोहरासँग वि.सं २०६९ सालमा विवाह गरेका हुन् । कलेज पढ्ने समयमा विन्दु आफूलाई मन परेपछि प्रेम प्रस्ताव गरेको प्रकाश बताउँछन् । आफूले बिन्दुलाई फलो गरेको र एक वर्षपछि आफूहरु साथी भएको प्रकाशले बताए ।

‘चिनजान भएको दुई वर्षपछि प्रेमी प्रेमीका भयौं । त्यसको दुई वर्षपछि विवाह ग¥र्यौ’– प्रकाशले भने । यो जोडीको एक छोरी छिन् ।

राजु ढकाल र देवी घर्ती
गायक राजु ढकाल र गायिका देवी घर्ती मगरले पनि प्रेम विवाह गरेका हुन् । उनीहरुले वि.सं २०६५ सालमा अन्तरजातिय विवाह गरेका हुन् ।

तनहुँबाट काठमाडौं आएर सांगीतिक क्षेत्रमै संघर्ष गरिरहेका राजु र बाग्लुङबाट काठमाडौं आएर सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी देवीको तीन वर्षको प्रेम सम्बन्धपछि विवाह भएको हो । ‘हामीले एउटै दोहोरी साँझमा काम गथ्र्यौं । सोही क्रममा नजिक भयौं । एकअर्कालाई बुझ्यौं । केही वर्षपछि पारिवारिक सल्लाहमै विवाह गरेका हौं’ देवीले अनलाइनखबरसँग भनिन् ।

राजु र देवीको जोडीलाई लोकदोहोरी क्षेत्रमै उदाहरणीय जोडीका रुपमा लिइन्छ । पछिल्लो समय व्यवसायमा समेत हात हालेका उनीहरुको ९ वर्षीय छोरा छन् ।

कुलेन्द्र विश्वकर्मा र तारा सुनार
लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माले प्रेम विवाह गरेका हुन् । उनले वि.सं २०६९ सालमा वाग्लुङकी तारा सुनारसँग विवाह गरेका हुन् । कार्यक्रमको शिलशिलामा आफूहरुको भेट भएको र त्यसपछि आफूहरु नजिक हुँदै गएको कुलेन्द्रले बताए । ‘नजिक भएको दुई वर्षपछि विवाह गरेका हौं’ कुलेन्द्रले भने । यो जोडीको दुई छोरी छन् ।

शान्तीश्री परियार र नारायण भुजेल
लोकदोहोरी गायिका शान्तीश्री परियारले प्रेम विवाह गरेकी हुन् । उनले नारायण भुजेलसँग विवाह गरेकी हुन् । केही वर्षअघि विवाह गरेको यो जोडीलाई हालै पुत्री लाभ भएको छ ।

प्रिती आले र सुवास केसी
लोकगायिका प्रिती आले र सुवास केसीले प्रेम विवाह गरेका हुन् । केही वर्षको प्रेमपछि प्रिती र सुवासले विवाह गरेका हुन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका महासचिव समेत रहेका सुवासले गीत लेखन र अभिनयमा पनि आफूलाई उत्तिकै सक्रिय बनाएका छन् । प्रिती र सुवासको जोडीको एक छोरी छिन् ।

पूर्णकला बिसी र धनकाजी परियार
लोकदोहोरी गायिका पूर्णकला बिसीले प्रेम विवाह गरेकी हुन् । उनले वि.सं २०७१ सालमा पोखराका धनकाजी परियारसँग विवाह गरेकी हुन् । आफूहरुको सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएको र नजिक भएको केही समयपछि विवाह भएको पूर्णकलाले बताईन् । ‘उहाँ वैदेशिक रोजगारमा हुुँदा फेसबुकको माध्यमबाट नजिक भयौं । फेसबुकमा कुरा हुन थाल्यो । वैदेशिक रोजगारीबाट फर्किएपछि विवाह गरेका हौं’ पूर्णकलाले भनिन् । यो जोडीको एक छोरी छिन् ।

लोकदोहोरी क्षेत्रमा अन्य थुप्रै कलाकारहरुले पनि प्रेम विवाह गरेका छन् । गायक भगवान भण्डारी, बमबहादुर कार्की, बद्री पंगेनीदेखि गायिका सिन्धु मल्ल, शिला आले, राधिका हमालसम्मले प्रेमविवाह गरेका हुन् । गीतकार कस्तुप पन्त, मोडल शंकर बिसीको पनि प्रेमविवाह हो । खुमन अधिकारी, जानकी तारामी मगर लगायतले पनि प्रेम विवाह गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment