२ फागुन काठमाडौं । रश्मी घिसिङको ह्याट्रिक प्रेरित त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला फुटबल लिगमा रौतहटको चन्द्रपुर नगरपालिकामाथि सहज निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा आर्मीले चन्द्रपुरलाई ६-१ ले पराजित गरेको हो । आर्मीको जितमा रश्मीले ह्याट्रिकसहित चार गोल र विमला चौधरीले दुई गोल गरिन् ।
१० औं मिनेटमै आर्मीलाई अग्रता दिलाएकी रश्मीले २१ औं मिनेटमा गोल थप्दै टिमको अग्रता दोब्बर पारिन् । त्यसको दुई मिनेटपछि विमलाले गोल गरेपछि आर्मीले ३-० को अग्रता बनायो ।
५० औं मिनेटमा रश्मीले ह्याट्रिक पूरा गरिन् भने ६१ औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । यस्तै विमलाले अर्को गोल ५६ औं मिनटमा गोल गरिन् । चन्द्रपुरका लागि रजनी थोकरले पहिलो हाफको इन्जुरी टाइममा एक गोल पर्काइन् ।
चन्द्रपुरकै पूर्वखेलाडी रहेकी रश्मीले पहिलो चरणको खेलमा पनि ४ गोल नै गरेकी थिइन् । आर्मीले पहिलो लेगमा चन्द्रपुरलाई १०-० ले पराजित गरेको थियो ।
लिगमा आठौं जित हात पारेको आर्मीले १० खेलबाट २५ अंक जोडेको छ । शीर्ष स्थानको एपीएफसंग अंकदूरी २ मा झार्दै आर्मीले उपाधिको सम्भावना कायमै राखेको छ ।
एपीएफले अहिलेसम्मका सबै ९ खेल जित्दै २७ अंक जोडेको छ । लिगमा अब एपीएफले ३ मध्ये बाँकी दुई खेल जितेमा मात्रै पनि च्याम्पियन बन्नेछ । लिगको अन्तिम खेल एपीएफ र आर्मीबीच हुनेछ । आर्मीले त्यसअघि नेपाल पुलिस क्लबसंग खेल्नेछ । एपीएफले आर्मी भन्दा अघि पुलिस र विराटनगर महानगरपालिकासंग खेल्नेछ ।
उता १० खेल खेल्दा जम्मा २ खेल जितेको चन्द्रपुर ६ अंकसहित छैटौं स्थानमा छ ।
प्रतिक्रिया 4