Comments Add Comment

अमित शाहको भनाइप्रति नेपालले गरायो भारतको ध्यानाकर्षण

फाइल फोटो

४ फागुन, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले नेपालको सम्बन्धमा दिएको भनिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले भारतको ध्यानाकर्षण गराएको छ ।

भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले हालै भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँगको भेटमा सो कुरा उठाएको समाचार स्रोतले बतायो । भारतीय विदेश मन्त्रालयले यस विषयमा के भएको हो बुझ्ने काम भइरहेको जवाफ दिएको छ ।

शाहले एक कार्यक्रमा भारतीय जनता पार्टीले नेपाल र श्रीलंकामा आफ्नो सरकार बनाउने योजना रहेको भनी सार्वजनिक अभिव्यक्ति दिएको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले केही दिन अगाडी सार्वजनिक कार्यक्रममा बोलेका थिए ।

शाहले सन् २०१८ मा नै पार्टी विस्तार गरेर नेपाल र श्रीलंकामा समेत सरकार बनाउने भनी अभिव्यक्ति दिएको बताएका थिए । तर शाहले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

केही भारतीय सञ्चारमाध्यमले एउटा अनौपचारिक कार्यक्रममा भारतका विभिन्न राज्यमा मात्र किन कम्युनिष्ट पार्टीजस्तै नेपाल र श्रीलंकामा पनि पार्टी विस्तार गर्नुपर्ने भनी ठट्टा गरेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीले एक सार्वजनिक कार्यक्रममा बोलेपछि भारतका राजनीतिक दलहरुले यसको विरोध गरेका छन् । इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धीले शाहको अभिव्यक्तिले छिमेकीसँगको सम्बन्ध विग्रने भन्दै त्यसको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment