Comments Add Comment

बार्सिलोनामाथि पीएसजीको शानदार जित, एमबाप्पेको ह्याट्रिक

५ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोरेको हो ।

क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा पीएसजीले तीन गोल गर्‍यो । जसमा एमबाप्पेले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । ७०औं मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे । ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।

यस्तै अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० ले पराजित गरेको छ । हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा लिभरपुलका लागि मोहम्मद सालाह र साडियो मानेले दोस्रो हाफमा गोल गरे । सालाहले ५३औं र मानेले ५८औं मिनेटमा गोल गरे ।

कोभिड १९ का कारण जर्मन सरकारले इंग्लिस टिमलाई देशमा प्रवेश गर्ने अनुमति नदिएपछि लाइपिजगले घरेलु खेल बुढापेष्टमा खेलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment