Comments Add Comment

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

५ फागुन, काठमाडौं । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य बदि्र पाण्डेले जानकारी दिए ।

१३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा समाप्त भएको थियो । विधानमा भएको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपिएको थियो । थपिएको कार्यकाल फागुन २० गते सकिँदैछ । त्यसपछि पनि कांग्रेसले संवैधानिक सुविधाअनुसार ६ महिना अवधि थप्न सक्छ । त्यो भनेको कांग्रेसको आयु २०७८ भदौसम्म कायम रहन्छ ।

भदौमा पनि महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता सकिन्छ । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश गर्ने तयारी गरेका छन् ।

क्रियाशील सदस्यता विवाद लगायतका कारण कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न सकेको छैन ।

यसैबीच संसद विघटनको विरोधमा कांग्रेसले पनि ठूला सभा गरेर विरोधसभा गर्ने तयारी गरेको छ । यसअघि कांग्रेस र उसका भ्रातृ संगठनहरुले गाउँ तहसम्म विरोधका कार्यक्रम गरिसकेका छन् । अब काठमाडौंसहितका ठूला शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले उठाउँदै आएका छन् ।

सम्भवत आजकै केन्द्रीय समितिको बैठकबाट यसबारे निर्णय हुन सक्ने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment