Comments Add Comment

सबैलाई कोरोना खोप सुनिश्चित हुने गरी कार्ययोजना ल्याउनुपर्छ : कांग्रेस नेता महत

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोपका विषयमा स्पष्ट खाकासहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोपको सुनिश्चितता दिनेगरी कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनीयताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको पनि बताए ।

‘खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनीयताको बारेमा पनि नेपाली जनतालाई सुनिश्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाकासहितको विस्तृत समयकालीन कार्यतालिकासहित, स्रोतसहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ’ उनले भने ।

खोप लगाउने विषयमा सरकार गम्भीर नभएको पनि सह–महामन्त्री महतले बताए । भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिएपनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाइ छ ।

सबैभन्दा पहिला अग्रपंक्तिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठीक भएपनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने सुनिश्चितता आउन नसकेको उनले बताए ।

निःशुल्क खोप कहाँकहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सह–महामन्त्री महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment