
७ फागुन, धरान । धरानमा आयोजना हुने ‘धरान टेन के रन’ नवौं नेवाः च्यारिटी २०२१ को अन्तिम तयारी पूरा भएको छ ।
हरेक वर्ष फागुनमा हुँदै आएको धरान रन यो वर्ष शनिबार आयोजना हुँदैछ । यो वर्ष कोभिडको कारण प्रतियोगितमा सीमित प्रतियोगीहरुले सहभागिता जनाउने आयोजक संस्थाका अध्यक्ष रमु राईले जानकारी दिए । उनका अनुसार देशभरका जम्मा १५० जनालाई मात्रै सहभागी गराइनेछ ।
धरान टेन के रनमा पाहुना धावकको रुपमा भारतको सिक्किम र जुम्लाका हिमाल आरोहीहरु गरी तीनजनाले पनि सहभागिता जनाउने उनले बताउ ।
कार्यक्रमलाई थप आकर्षण बनाउन धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दार्जिलिङका म्याराथुन धावक प्रमेश भुटियाले पनि प्रतियोगितामा सहभागिता जनाउने राईले बताए । अतिथिको रुपमा गायक राजु लामाको समेत उपस्थित रहने उनले बताए ।
गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशत बजेट कटौती गरेर अनुमानित ८ लाख रुपैयाँमा प्रतियोगिता सम्पन्न गरिने आयोजकले जनाएको छ ।
यो वर्ष अन्य देशका धावकहरुलाई सहभागी गराउन नसकिए पनि भारतको कालिङपुङ, सिक्किम, मिरिक र ग्वाहटीबाट धावकहरुले सहभागिता जनाउने उनले बताए ।
नेपालका जुम्ला, सर्लाही, काठमाडौं, ललितपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ र झापाका साथै नेपाली सेनाको तर्फबाट पनि प्रतिनिधिमुलक सहभागिता रहने राईको भनाइ छ ।
यो वर्षको धरान टेन के रनको ‘शिक्षाका लागि च्यारिटी दौड’ नारा दिइएको छ । विगतमा जस्तो विभिन्न उमेर समूह तथा भेट्रान क्याटगोरीमा सहभागिता र पुरस्कार दिइने छैन ।
खुला महिला र पुरुषको मात्र दौड स्पर्धा हुनेछ भने दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावक धाविकाहरुले क्रमशः ट्रफी, मेडलसहित नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् । चौथो र पाँचौं हुनेलाई पनि सान्त्वना पुरस्कार दिइनेछ ।
प्रतिक्रिया 4