Comments Add Comment

नेपाली शेक्सपियर बालकृष्ण सम

वालकृष्ण सम नेपाली साहित्य जगतका शेक्सपियर मानिन्छन् । शेक्सपियर विश्व साहित्यमा नाटक विधाका शिखर व्यक्तित्व हुन् । वालकृषण सम पनि नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व हुन् । तर सम नाटकमा मात्र सीमित थिएनन् । कविता, काव्य, महाकाव्य र चम्पु काव्यमा पनि उनले कीर्तिमानी रचनाहरु नेपाली साहित्यलाई प्रदान गरेका छन् । उनका नाटक विधाका रचनाका अतिरिक्त “मृत्युपछिको अभिव्यञ्जना” जस्ता कविता, “आगो र पानी” जस्ता काव्य, “चिसो चुल्हो” जस्तो महाकाव्य, “मेरो कविताको आराधना” जस्ता चम्पूकाव्य नेपाली वाङमयका सर्वकालिक निधि हुन् ।

यस्ता मूर्धन्य व्यक्तित्वसँग संगतको अवसर नपाए पनि, नजिक बसेर उठ बस गर्ने अवसर नपाए पनि केही भेटघाटको सम्झना भने अटलरुपमा मानसपटलमा रहेको छ ।
साहित्यमा भर्खरै वामे सर्दै गर्दा सडक कविता क्रान्तिमा संलग्न हुने अवसरले मलाई स्थापित साहित्यकारहरुको नजिक पुर्‍याउन मद्दत गर्यो । अनि विविध साहित्यिक कार्यक्रममा सहभागी हुन थालें । तत्कालीन समयमा काठमाडौंमा हुने साहित्यिक गतिविधिमा साहित्यिक पत्रकार संघको कृयाकलाप बाक्लो थियो, चाक्लो थियो । भवानी घिमिरेको नेतृत्वमा स्थापित साहित्यिक पत्रकार संघ नामले साहित्यिक पत्रकारहरुको संस्था देखिए पनि साहित्यकारहरुको संस्था थियो, साहित्यिक पत्रकारहरुसहित । म पनि यस संस्थाका कार्यक्रमहरुमा सामेल हुन थालें ।

साहित्यिक पत्रकार संघको कृयाकलापमा साहित्यिक वनभोज पनि यौटा आकर्षण थियो । वनभोजमा काठमाडौंमा उपलब्ध प्राय: सबै तह र तप्काका साहित्यकारहरु सहभागी हुन्थे । विसं २०३६ सालपछिको यौटा वनभोज वालाजु उद्यानमा भएको थियो । त्यस्तो बनभोजमा कविता वाचनको कार्यक्रम पनि हुन्थ्यो नै । मैले पहिलोपल्ट बालकृष्ण समलाई त्यही वनभोजमा नजिकबाट देख्ने अवसर पाएको थिएँ । अनि उनले त्यहाँ कविता वाचन गरेको पनि सुन्ने अवसर पाएँ । उनले उभिएर एउटा कविता सुनाएको दृष्य आजपर्यन्त मेरो मानसपटलमा ताजा नै छ ।

त्यसपछि मैले कवि धरणीधर कोइरालाको जन्म जयन्तीका अवसरमा रत्न पुस्तकालय बानेश्वरमा आयोजित कार्यक्रममा उनले फेरि कविता वाचन गरेको सुन्ने अवसर पाएँ । त्यो अवसरमा वीपी कोइराला र मनमोहन अधिकारी पनि उपस्थित थिए । मैले त्यसै दिन पत्तो पाएको थिए, वीपी र मनमोहनको कवि धरणिधर कोइरालाको नाता सम्वन्ध रहेछ भन्ने कुरा ।

वालकृष्ण समले त्यस दिन वाचन गरेको कविताको हरफ मलाई अहिले पनि याद छ-“अहम् खम् ब्रम्ह… ” यी शव्द मेरा लागि नितान्त नौलो भएकाले पनि मेरो मन मष्तिष्कमा अटल भएर रहेका हुन् ।

त्यो पूर्ण कविता यस्तो थियो:

ऊँब्रम्ह हुँ म, करोडौं दृष्टि करौडौं हात खुट्ट भएका,
असङ्ख्य ईच्छा भएका, आफैंमा तृप्त रहने यो ब्रम्हाण्ड
सूक्ष्मातिसूक्ष्म ऊँ खं ब्रम्हमासमाधि समाधिस्थ रहेर
यो विश्व चक्रै चक्र परिक्रम गर्ने स्थूल परब्रम्ह हुँ !

पछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वर्षेनी आयोजना गर्ने कविता उत्सवमा पनि उनी उपस्थित भै कविता वाचन गरेको देख्थें । त्यस्तै आफ्नो जन्मदिनमा उनी गोरखापत्रमा वर्षेनी एउटा कविता आफ्नो जन्मदिनलाई नै विषय बनाएर प्रकाशित गर्थे ।

म विसं २०३२ सालमा काठमाडौंमा उच्च अध्ययनका लागि पुगेको हुँ । त्यतिबेला क्याम्पसको विद्यार्थीहरुका लागि पनि युनिफर्म लागुगर्ने सरकारले निर्णय गरेको थियो । त्यो पहिरन दौरा र शर्टको मिश्रित रुप थियो । पछि थाहा भयो, त्यो बालकृष्ण समले लगाउने गरेको विशेष प्रकारको पहिरनको कपी रहेछ । युनिफर्मका लागि क्याम्पसमा लागु गरिएको नियम व्यवहारमा लागु भएन र असफल भयो, तर बालकृष्ण समले भने आजिवन त्यही विशेष प्रकारको पोशाकमा नै आफूलाई सजाइरहे ।

वालकृष्ण समको जन्म विसं १९५९ माघ २४ गते ज्ञानेश्वर काठमाडौंमा भएको थियो । राणाकालको नेपालमा उनी सुविधाभोगी राणा परिवारमा जन्मेका थिए । उनको स्कूले शिक्षा दरवार हाइस्कूलमा भएको थियो । त्यसपछि कोलकातामा गएर उनले म्याट्रिक परीक्षा उत्तिर्ण गरेका थिए । अनि त्रिचन्द्र कलेज काठमाडौंमा आई ए तहमा अध्ययन गर्दागर्दै उनी तत्कालीन राणा खलकले पाउने सुविधाले एकाएक सेनाको कप्तान बन्न पुगे । यसले उनको कलेजको पढाइ पूरा हुन पाएन । उनी सेनाको कर्णेलसम्मको पदमा पुगेका थिए ।

तर, उनी राणा शासनकै विरुध्द विसं २००७ सालको क्रान्तिमा सहभागी भए र जेलसमेत परे । त्यसरी आफ्नै बंशका राणा सरकारविरुध्द लाग्नमा राणा शासककै व्यवहार कारक थियो । उनी गोरखा भाषा प्रकाशिनी समितिमा थिए । शहीद शुक्रराज शास्त्रीको सुझावमा त्यसलाई पछि नेपाली भाषा प्रकाशिनी समिति बनाइयो । उनी नेपाल भाषा प्रकाशिनी समितिमा अध्यक्षको रुपमा पनि रहे । यो क्रममा उनले राणा शासनको अन्याय र अत्याचार निकै नजिकबाट देख्न र भोग्नु पर्यो । सँजायको भागिदार पनि बन्नु पर्यो । यी सबले उनी राणा शासन विरोधी बन्न पुगेका थिए ।

वालकृष्ण समले १० वर्षको उमेरमै कविता लेखेका थिए । उनले पहिलो नाटक “तानसेनको झरी” विसं १९७७ मा लेखेका थए तर प्रकाशित पहिलो नाटक भने “मुटुको ब्यथा” हुन पुग्यो । यो नाटक विसं १९८६ मा प्रकाशित भएको थियो । उनका अन्य प्रमुख नाटकहरुमा “मुकुन्द ईन्दिरा”, प्रह्लाद”, अन्धवेग”, ” भक्त भानुभक्त”, “प्रेमपिण्ड”, अमरसिंह” आदि छन् । तीसको दशकमा राष्ट्रिय नाचघरमा “अमर सिंह” प्रदर्शन भएको थियो र त्यस नाटकमा उनले समेत अभिनय गरेका थिए । पछि “प्रेम पिण्ड” नाटकमा आधारित “प्रेमपिण्ड” चलचित्र निर शाहको निर्देशनमा बन्यो र निकै चर्चित र लोकप्रिय भयो ।

बालकृष्ण समको “आगो र पानी” काव्य विसं २०१४ मा प्रकाशनमा आयो । त्यसले उनलाई काव्य शिखरमा पुर्यायो । तर “चिसो चुल्हो” ले भने उनको महाकाव्यकारिताको क्षितिजमा ठूलो आकाशको फैलावट दियो । यस महाकाव्यको रचनाको विषयमा उनले लेखे-” मैले सोह्र वर्षको उमेरमा महाकाव्य लेख्नालाई पहिले कलम चलाएको हुँ, त्यसको नाम “एक प्रभातस्मरण” राखें, तर त्यो प्रभात जस्तै छोटो भएर रह्यो ।

फेरि १८ बर्षको उमेरमा “आर्यघाट” नाम दिएर अर्को काव्य प्रारम्भ गरें, त्यो पनि आर्यघाटको सेरोफेरोभन्दा विशेष फैलिन सकेन, फेरि “अवतारदर्शन” प्रारम्भ गरें, त्यसको फैलिने लक्षण थियो, तर एक सर्ग लेखिसकेपछि मेरो दर्शन आदि सिध्दान्त बदलियो, अनि “नियमित आकस्मिकता” लेखेर विचारको रुपरेखा ठीक पार्न खोजें । त्यहाँवाट पचपन्न वर्षको उमेरमा यो “चिसो चुल्हो” लेखेको हुँ, यति वर्ष लाएर गुम्स्याएको भावना पाठकवर्गका समक्ष खोलेर राखेको छु । मैले यसलाई मोटो पार्न आफूलाई धेरै दुव्लो बनाएको तथ्यतालाई पनि म यहाँ प्रकट गर्दछु ।”

यो महाकाव्यको पहिलो संस्करण प्रकाशनका लागि छपाई खर्च उनले राजा महेन्द्रवाट पाएका थिए ।

यो बौध्दिकता र दर्शनले कठोर भएको भन्ने आरोप पनि यो महाकाव्यले खेप्यो । समालोचक डा.तारानाथ शर्माले त यसलाई “झुसिलो डकार” को उपमा दिए ।

वालकृष्ण सम राणा परिवारको भएकै कारण कतिपय आरोप उनमाथि लाग्ने गरेको छ । लक्ष्मीनन्दन जेल पर्नु र उनको जेलमा मृत्यु हुनुलाई पनि वालकृष्णको हात रहेको आरोप लागेको थियो । लक्ष्मीनन्दन कवि थिए र त्रिचन्द्रमा पढ्थे । वालकृष्ण सम त्यहीँ अध्यापन गर्दथे । लक्ष्मीनन्दनले परीक्षामा कुनै सन्दर्भमा “नपुंशक राणा” लेखेको कुरा उनी मार्फत पद्म शम्शेर हुँदै जुध्द शम्शेरकहाँ सम्म पुगेको थियो । लक्ष्मीनन्दनलाई शुरुमा १२ वर्ष र पछि घटाएर ६ वर्षको जेल संजाय भयो । जेलको अवस्थाले तिनलाई क्षयरोग लाग्यो र पछि उनको मृत्यु भएको थियो ।

महाकवि देवकोटाप्रति पनि उनको राम्रो सद्भाव नरहेको भनिन्थ्यो । त्यसैकारण देवकोटा अफ्रो एशियाली लेखक सम्मेलनमा भाग लिन दिल्ली गएको वेला नेपाल सरकारको स्वीकृति विना उपचारको लागि सोभियत रुस गएको भन्दै उनको भत्ता रोक्का गर्न वालकृष्ण समको हात रहेको वताईन्थ्यो । कतिपय परिस्थितिमा उनी राणा खलककै भए वापत अनावश्यक आरोप लागेको पनि विश्वास गरिन्छ । त्यसो त महाकवि देवकोटा उपचारको सिलसिलामा शान्तभवन हस्पिटलमा उपचाररत हुँदा महाकविलाई सम्वोधन गरेर यस्तो कविता लेखेका थिए:

हामी तिम्रो घेरा लागि संग्राम हेरिरहेका छौं
महारथी, तिमी महाङ्कालसित एक्लै लडिरहेका छौ
क्षतविक्षत छौ , तिम्रो शत्रु विश्वभरको वलवान् छ
अस्त्र शस्त्रले हाम्रा कविमा प्रहार गरिरहेको छ
वीर, तिम्रो जित होस् यही शुभकामना केवल हाम्रो छ ।
………………………

महाकवि, यस संसारको नै तिमी कवि सम्राट बन्ने छौ ।”

नेपालका शीर्षस्थ राजनेता एवम् साहित्यकार वीपी कोइराला समेत वालकृष्ण समको प्रतिभावाट निकै नै प्रभावित थिए । विसं २०१२ सालमा एक पत्र लेखेर उनले बालकृष्ण समसित “मन र शरीरको स्वास्थ्यका लागि” एक हप्ता साथै वस्न चाहेको भनेर पत्र लेखेका थिए । उनले लेखेको पत्र यसप्रकार रहेको थियो-

” प्रिय बालकृष्णजी
मलाई यता ६ दिन जति एकदम बेकारी छ । आफ्नो समय राजनीतिवाट मुक्त भएर तपाईंको साहचर्यमा विताउन चाहन्छु । चित्रकारीको अभ्यास पनि गर्नु छ । यात तपाईं घरलाई त्यागेर ५/६ दिन मसँग बस्न पाल्नुहवस्, या मनै एक प्रकारले तपाईंको घरमा गुप्तवास गर्न आउँछु । मलाई १ हप्ता जति गुप्तवास वस्न मन छ । मन र शरीरको स्वास्थ्यका लागि ।
विश्वेश्वरप्रसाद कोइराला

२०१२ साल

यो पत्रले विपीले बालकृष्ण समसँग साहित्यिक एबम् कालाकारिताको सत्सँग गरेर एक हप्ता विताउन मन गरेको वुझिन्छ ।
बालकृष्ण सम लेखन सँगसँगै कलाकारिताको क्षेत्रमा पनि उत्तिकै पोख्त थिए । उनका चित्रकला उम्दा र अन्तरराष्ट्रिय तहका थिए । तर नेपाली जगतमा उनको कला प्रतिभालाई भने साहित्यिक ब्यक्तित्वले छायाँमा पारिदियो । उनको आफ्नो निवासको द्वारमा नै कलात्मक र साहित्यिक सुत्रले प्रवेश पाएको थियो । उनको द्वारमा पुग्ने जो कोही पनि प्रभावित र मुग्ध हुन्थ्यो नै । म पनि त्यो द्वारको सामुन्ने एकपल्ट पुग्ने अवसर पाएको थिएँ । सन्दर्भ थियो म सहसम्पादक भएको “दीपिका” साहित्यिक मासिकले गर्न लागेको “उपत्यकाब्यापि अन्तर क्याम्पस कविता प्रतियोगिता” को र मलाई त्यहाँसम्म लैजाने ब्यक्ति थिए कथाकार तथा “दीपिका” का सम्पादक हरिशंकर अमात्य ।

हामी जाडो महिनाको विहानै ज्ञानेश्वरस्थित सम निवासमा पुगेका थियौं । हामीले त्यहाँ गएर वाहिरको गेटवाट आगन्तुक आएको आवाज दिएपछि सम आफैं कौशीमा निस्केका थिए । उनले सोधे-” के का लागि आउनु भएको ?”
हरिशंकरले हात जोडेर भने-” हामी उपत्यका व्यापि अन्तर क्याम्पस कविता प्रतियोगिता गर्दैछौं, त्यस कार्यक्रमका लागि हजुरलाई अतिथिको रुपमा निम्तो गर्न आएका ।”

“कहिले हो ?” समले सोधेका थिए ।

हरिशंकर अमात्यले मिति बताएका थिए । अनि उनले भनेका थिए, “त्यो दिन मेरो मिल्दैन, अन्तै समय दिएको छु ।”
त्यसपछि हामी उनलाई अभिवादन गरेर फर्कियौं ।

वालकृष्ण समको पहिरनको विशेषता त छँदै थियो, अर्को विशेषता पनि थियो, उनी रिक्सा चढ्न मन पराउँथे । उनी रिक्सामा सवार भएर नयाँ सडक आउँथे । ठमेल पुग्थे । मैले कैयन पटक त्यसरी उनलाई रिक्सामा सवार भएको देखेको छु । उनी रिक्सामा एक्लै वा सपत्नी सवार हुन्थे ।

वालकृष्ण समले राणा शासनमै सैनिक सेवा गरेका थिए । उनी नेपाल भाषा प्रकाशिनी समितिको अध्यक्ष भए । उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यदेखि उपकुलपतिसम्म भए ।

उनको राजपरिवारप्रति निष्ठा र भक्तिभाव थियो । उनी पञ्चायत कालमा विभिन्न अवसरमा अतिथि वक्ता भएर पनि कतिपय जिल्ला पुगेका थिए । पञ्चायत कालमा मनाइने प्रजातन्त्र दिवस, राजाको जन्मोत्सव आदिमा यौटा नारा कर्णप्रिय र लोकप्रिय थियो:

“हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ
हाम्रो भाषा हाम्रो भेष, प्राणभन्दा प्यारो छ”
यस्तो काव्यात्मक नारा बनाउने बालकृष्ण सम नै थिए ।

बालकृष्ण समले विसं २०२७ सालमा साझा पुरस्कार पाएका थिए । उनले विसं २०२९ सालमा त्रिभुवन पुरस्कार तथा विसं २०३५ सालमा पृथ्वी प्रज्ञा पुरस्कार पाएका थिए । पृथ्वी प्रज्ञा पुरस्कार पाउने उनी पहिलो प्रतिभा थिए । त्यस्तै, त्रिभुवन विश्वविद्यालयले उनलाई मानार्थ महाविद्यावारिधिसमेत प्रदान गरेको थियो । बाँचुन्जेल नेपाली भाषा साहित्यमा लागिरहेका मनिषी स्रष्टा थिए उनी । उनको अभूतपूर्व नाट्य लेखन, लेखन शैली र योगदानले गर्दा उनलाई नेपाली शेक्शपियरको उपमाले पनि विभूषित गर्ने गरिन्थ्यो ।

उनको निधन २०३८ साउन ६ गते काठमाडौंमा भयो । उनको निधनपश्चात् हुलाक सेवा विभागले उनको सम्मानमा उनको तस्वीर अङ्कित हुलाक टिकटसमेत प्रकाशन गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment