Comments Add Comment

सर्वोच्चले संविधान हेरेर फैसला गरोस् : पन्त

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाल दलित मुक्ति संगठनले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पन्तले सर्वोच्चले संविधान हेरेर फैसला गर्ने विश्वास व्यक्त गरे ।

जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको भन्दै उनले सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने बताए ।

नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए । यसले संविधानमा भएका दलितका अधिकारहरु समेत खोसिएको अनुभूति भएकाले संसद पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको उनले बताए ।

त्यसअघि माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं’, ‘समानुपातिक समावेशीकरण र धर्म निरपेक्षताको रक्षा गरौं’, ‘प्रतिनिधि सभाको पुनर्स्थापना गरी संविधानको रक्षा गरौं’ जस्ता प्लेकाड प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment