Comments Add Comment

व्यवसायीका समस्या समाधान गर्न भिजन पेपर ल्याउँदैछौं : गोल्छा

१० फागुन, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताएका छन् । मुलुकको आर्थिक वृद्धि दर १० प्रतिशत भन्दा माथि पुर्‍याउन र रोजगारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेरप तयार गरिएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताका लागि सीएनआई लगायतका अरु संस्थाहरुसँग समेत छलफल भइरहेको बताए ।

गोल्छाले निजी क्षेत्रका व्यवसायिक संस्थाहरु बीच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यवसायको समस्या समाधान हुने विश्वास व्यक्त गरे । त्यस्तै उनले महासंघले विज्ञसहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै बिशेष गरी बैंकिङ, राजश्व, श्रमको समस्यामा परेका व्यवसायीहरुलाई राहतको काम गर्ने उल्लेख गरे ।

त्यस्तै महासंघमा मेलमिलाप केन्द्र बनाउन लागिएको र त्यस केन्द्रले उद्योग व्यवसायमा भएका समस्या समाधानमा भूमिका खेल्ने र सर्वोच्च अदालतमा मुद्धा गएपनि अदालतसँग समन्वय गरेर त्यसलाई हेर्ने उल्लेख गरे ।

बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) को नियमावली परिवर्तन, मोतिपूर औद्योगिक क्षेत्र लगायतका कारण रुपन्देहीमा लगानीको प्रचूर संभावना रहेको र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औंल्याए ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता हुने व्यवस्था भएपनि पर्याप्त उद्योग सञ्चालन हुन नसकेको बताउँदै सरकार र निजी क्षेत्रबीच सहकार्य फराकिलो बनाउनुपर्नेमा जोड दिए । उपाध्यक्ष गौतमले मोतिपूर औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु हुने जानकारी गराए । संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्या जस्ताको त्यस्तै रहेको बताउँदै सरकार निजी क्षेत्र मैत्री हुनु पर्ने र लगानीमैत्री वातावरण बनाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment