Comments Add Comment
जोखिममा गौरवको आयोजना :

मेलम्ची उद्घाटनको हतारो

सुरुङमा पानी हालियो, बाहिर फाल्नुपर्ने फोहोर पानी प्रशोधन केन्द्रमा झार्ने तयारी

१० फागुन, काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापा सोमबार युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङसहितको टोली लिएर अम्बाथान पुगे । र, मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर लामो सुरुङमा पुनः पानी भर्न शुभारम्भ गरे ।

उनको दाबी छ, ‘अब काठमाडौंबासीले मेलम्चीको पानी उपयोग गर्न धेरै समय कुर्नु पर्दैन ।’

यसअघि २९ असारमा तत्कालीन खानेपानीमन्त्री विना मगरले पनि सुरुङका हाइड्रोमेकानिकल गेटहरुको विज्ञमार्फत सुपरीवेक्षण नै नगराई पानी भर्न लगाएकी थिइन् । पानी भर्न थालेको १० घण्टा नबित्दै अडिट टनेलको गेट भत्कियो । र, एक्कासी आएको पानीले बगाएर एक इन्जिनियरको मत्यु भयो भने अर्का एक अझै वेपत्ता छन् ।

तर, अहिले फेरि जस लिने होडमा सरकारले हतारो गरेको छ । नियमित कार्यतालिका अनुसार परीक्षणका लागि सोमबारबाट पुनः हाल्न थालिएको पानीले सुरुङ भरिएपछि ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा अडिट टनेलबाट बाहिर फाल्नुपर्छ । यसले सुरुङको गुणस्तर परीक्षण मात्र गर्दैन, सुरुङमा रहेको माटो, बालुवा र फोहोरलाई सफा गर्छ । सो पानी अत्याधिक फोहोर हुने भएकाले बाहिर फाल्नुपर्ने आयोजनाका इन्जिनियरहरु बताउँछन् ।

तर, सुन्दरीजलको अडिट टनेलबाट बाहिर फाल्नुपर्ने पानीलाई सिधै सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसाउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगेर आयोजनाको उद्घाटन गरिहाल्ने तयारी छ ।

जोखिममा प्रशोधन केन्द्र

यसरी पानी हाल्दा बालुवा, अन्य ठोस फोहोर समेत भएको पानी हाल्दा प्रशोधन केन्द्र बिग्रने जोखिम हुने प्राविधिकहरुको चिन्ता छ । पानी प्रशोधन केन्द्र जापान सरकारको ५ अर्ब ७ करोड ऋण लगानीमा तयार भएको हो ।

सुरुङभित्रको काम सकेपनि अझै आयोजनाको स्थायी बाँध र बालुवा छान्ने पूर्वाधार (डिसेन्डर) निर्माण काम चलिरहेको छ । हाल खोलामा अस्थायी बाँध बाँधेर सोझै सुरुङमा पानी हालिएको छ । यसले खोलाको बालुवा सुरुङमा भरिने जोखिम हुन्छ ।

एकपटक पनि फ्लस नगरिएको सुरुङमा ल्याइएको पानी प्रशोधन केन्द्रमा हाल्नु गलत भएको भन्दै आयोजनाका एक अधिकारीले भने, ‘उद्घाटन गर्ने हतारमा सुन्दरीजलको प्रशोधन केन्द्रलाई जोखिममा पार्न खोजिँदैछ ।’

जबकी नियमित कार्यतालिका अनुसार गर्ने हो भने सुन्दरीजलमा वितरण योग्य पानी र्झन कम्तिमा ७७ दिन लाग्छ ।

अधिकारीहरुका अनुसार सुरुङमा प्रतिसेकेन्ड २६० लिटरकै दरले पानी हालिँदैछ । यसरी १५ देखि २० दिनमा सुरुङमा पानी भरिन्छ । सुरुङ भरिएपछि १० दिन जम्मा गरेर राख्नुपर्छ र जसरी भरिएको छ, त्यही मात्रामा पानी फाल्दा सरुङ खाली हुन १५ देखि २० दिन लाग्छ । सुरुङ खाली भएपछि कुनै समस्या देखिए नदेखिएको चेकजाँच गर्न एक साताभन्दा बढी लाग्छ ।

यति कुनै समस्या देखिएन भने मात्र सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी र्झन सकिन्छ ।

तर मेलम्चीको पानी काठमाडौंमा ल्याएको जस लिने होडमा सरकारले यो सबै प्रक्रिया पुरा गर्ने धर्यता नदेखाउने संकत गरेको छ । सुरुङमा पानी भरेर सुन्दरीजलमा खसाइहाल्ने र प्रधानमन्त्रीलाई लगेर रिबन काट्ने हतारो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र खोनपानी मन्त्रालयले देखाएको छ ।

त्यसका लागि एक नाम मात्रैको ‘विज्ञ टिम’लाई सिधै सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानी खसाउन मिल्ने ब्यहोराको रिपोर्ट बनाउन जिम्मा दिइएको स्रोतको दावी छ ।

अझै बाँकी छन् धेरै काम

मेलम्चीमा पानी खसेपछि पनि तुरुन्तै उपभोक्ताको घरमा पानी पुग्ने अवस्था छैन । दोस्रो चरणमा सुरुङमा भरिने पानीलाई वितरण प्रणालीमा पठाउनुअघि प्रशोधन केन्द्रमा शुद्धीकरण गरेर वितरण लाइनका पाइपमा पाइन्छ । त्यो पानीले सुरुको चरणमा पाइपहरु सफा गर्छ । पाइप सफा गरेको फोहोर पानीलाई बाहिर फाल्नुपर्छ । त्यसपछि मात्रै उपभोक्ताको घर-घरमा पिउनयोग्य पानी पठाइनेछ ।

काठमाडौंका दुई तिहाई क्षेत्रमा मेलम्चीले नयाँ पाइप जोडेपनि कलंकी, महाराजगञ्ज, धुम्बाराही लगायतका क्षेत्रमा पाइप जडान गर्न बाँकी छ । साथै पुरानो र नयाँ पाइपमा लिकेजको समस्या देखिनसक्छ । यो सबै काम सकेर सबै उपभोक्ताको घर-घरमा पानी पुग्न करिब एक वर्ष समय लाग्न सक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्त भने कम्तिमा दुई महिनामा मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रबाट वितरण लाइनमा पठाउन सकिने बताउँछन् ।

उनका अनुसार वितरण लाइनको अवस्था अनुसार उपभोक्ताको धारामा भने फरक-फरक समयमा मेलम्चीको पानी खस्नेछ । वितरण लाइनको पनि परीक्षण र सफाइको केही काम बाँकी रहेकाले सबै उपभोक्ताले एउटै मितिबाट पानी पाउन नसक्ने उनले  स्वीकार गरे ।

उनले अब मेलमचीको पानी छिट्टै उपभोक्ताले उपयोग गर्न पाउने पनि बताए ।

यो पनि पढ्नुहोस सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment