
११ फागुन, काठमाडौं । काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बिम कम्पनी ल्याउनका लागि तयारी थालिएको छ । अहिले मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी रहेको छ । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले स्वस्थ प्रतिष्पर्धाका लागि नयाँ कम्पनी खोल्नका लागि आवेदन आह्वान गर्ने बताइसकेका छन् ।
समितिले नयाँ कम्पनी खोल्न इजाजत दिने तयारी गरेपछि बिमा क्षेत्रहरुको बिज्ञहरु सम्मिलित एउटा समूहले काठमाडौं रिइन्स्योरेन्स नामक नयाँ पुनर्बिमा कम्पनी खोल्ने तयारी गरेको हो । प्रस्तावित उक्त कम्पनीमा बिमा क्षेत्रको निमनकारी निकाय बिमा समितिकै पूर्ब अध्यक्ष देवेन्द्र प्रताव साह, बिमा कम्पनीका सबै भन्दा पुराना सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बिमा कम्पनीका पूर्ब अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टिम बनेको छ ।
प्रस्तावित कम्पनीहरुको टिममा रहेका शाह बैंकिङ तथा बिमा क्षेत्रमा राम्रो ज्ञान भएका व्यक्ति हुन् । उनी नियमनकारी निकायको अध्यक्षमात्रै होइन मुलुककै जेठो बैंक नेपाल बैंक र कृषि विकास बैंकको समेत प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् ।
टिमका अर्का सदस्य भट्टराई बिमा कम्पनीको नेपालकै पहिलो सीईओ हुन् । यस अघि बिमा समितिको अध्यक्षको दौडमा रहेका भट्टराई अहिले महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीईओ रहेका छन् । चार्टर अकाउन्टेन्ट गुरागाईं नेपालको एकमात्रै पुनर्बिमा कम्पनीका अध्यक्ष भइसकेका व्यक्ति हुन् ।
उनी चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष र पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका पूर्व सञ्चालक समेत हुन् । अर्का सदस्य भट्ट पनि बैंक तथा बिमा क्षेत्रमा लामो अनुभन भएका व्यक्ति हुन् । उनी ज्योति विकास बैंक, आईएमई लाईफ र रेमिट टू नेपालका पूर्व सीईओ हुन् ।
प्रस्तावित काठमाडौं रि इस्योरेन्सको अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी पुँजी १० अर्ब रुपैयाँ हुने बताइएको छ । ३० प्रतिशत सेयर भने सर्वसाधारणका लागि छुट्याउने गरी तत्काल चुक्ता पुँजी ७ अर्ब रुपैयाँ हुनेछ ।
कम्पनीमा विदेशी साझेदार समेत भित्र्याउने गरी काम भइरहेको टिमका सदस्य भट्टराईले जानकारी दिए । उनका अनुसार ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बिमा वा पुनर्बिमा कम्पनीलाई दिइनेछ । सञ्चालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ सदस्यीय सञ्चालक समिति रहने गरी गृहकार्य गरिएको उनले जानकारी दिए ।
पुनर्बीमा भन्नाले जीवन र निर्जीवन बीमा कम्पनीहरुको बीमाको पनि बीमा गर्ने व्यवसाय बुझिन्छ । बीमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखिम आफैंले बहन गर्न नसक्ने भएकोले त्यसलाई वा जोखिमलाई न्यूनीकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पुनर्बीमा भनिन्छ ।
प्रतिक्रिया 4