
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो ७० औं बर्थ डे विभिन्न चरणमा मनाए । बर्थ डे मनाउन ओलीले आफ्ना पिता मोहनप्रसादलाई समेत झिकाएका थिए । परिवार र सचिवालयका सदस्यहरुसँग विहान बर्थ डे मनाएका ओलीले साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए ।
राजधानी उपत्यका बाहिर रहेका बाहेकका मन्त्रीहरू सहित ओली निकट नेताहरु पनि बालुवाटार पुगेका थिए । बर्थ डे उत्सवमा सांगीतिक कार्यक्रम समेत राखिएको थियो । पूर्वनिर्धारित योजनाअनुसार, नाँचगान पनि चल्दै थियो ।
तर, साँझतिर सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा फैसला पढ्न शुरु गरे । केहीबेरमै फैसला आयो– प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर । तर, बालुवाटारमा बर्थ डे उत्सव भने त्यसपछि पनि रोकिएन । रोम जलिरहँदा बाँसुरी बजाउने रोमन सम्राट नीरो जस्तै प्रधानमन्त्री ओली बर्थ डे मनाउनमै व्यस्त देखिए ।
ओलीले हरेक वर्ष बर्थ डेलाई विशेष बनाउने गरेका छन् । गैरकम्युनिष्ट नेताहरुले समेत खासै महत्व नदिने गरे पनि ओलीको बर्थ डे उत्सव पहिलेबाटै आलोचित हुने गरेको थियो । तर, यसपटक भने ओलीको बर्थ डे आफैं खल्लो बनेको छ ।
दुई वर्ष कार्यकाल बाँकी रहँदै संविधानमै नभएको अधिकार प्रयोग गरी गएको पुस ५ मा प्रतिनिधि भंग गरेका ओलीले बर्थ डे गिफ्ट भने निकै महंगो पाएका छन् ।
प्रतिक्रिया 4