
१२ फागुन, काठमाडौं । यही फागुन अन्तिममा सिन्धुपाल्चोकमा ‘लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ । सेना दिवसका अवसरमा गोरखबक्स गणको पहलमा यही फागुन २४ गते बाह्रबिसे नगरपालिका-५ बसेरीदेखि भोटेकोशी गाउँपालिका ३ दुगुनागढीसम्म ट्रेल रेस हुन लागेको हो ।
सोही क्षेत्रका गौरव दुगुनागढीको ऐतिहासिक महत्व एवं लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गर्न, पर्यटकीयस्थलका रूपमा विकास गर्न र सैनिक नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रेस बाह्रबिसे नगरपालिका-५ बसेरीदेखि सुरु भई भोटेकोशी गाउँपालिका-३ दुगुनागढीमा पुगेर समाप्त हुनेछ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आयोजना हुने ट्रेल रेसमा सहभागिले नि:शुल्क नाम दर्ता गराउन सक्नेछन। यो खुल्ला प्रतिस्पर्धा हो । रेस २१.२१ किमी दुरीको हुनेछ ।
ट्रेल रेस सञ्चालन हुने दिनका लागि प्रत्येक खेलाडीको १० लाख बराबरको दुर्घटना बिमा गरिनेछ ।
प्रतियोगितामा खुल्लातर्फ प्रथम हुनेले नगद १ लाख पुरस्कार पाउनेछन् । यस्त दोस्रो, तेस्रो र चौथो स्थान हुने धावकले क्रमश: ६० हजार, ४० हजार र २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फ पहिलो हुने ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेल २० हजार प्राप्त गर्नेछन्।
यसैगरी सिन्धुपाल्चोकवासीलाई पनि प्रोत्साहन होस् भनी उक्त जिल्लाबाट सहभागि भई पहिलो, दोस्रो र तेस्रो हुनेलेक्रमश: २० हजार, १५ हजार र १० हजार नगद पाउनेछन् ।
प्रतियोगितामा करिब २०० धावकको सहभागिता हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।
कार्यक्रममा विशेष अतिथिको कीर्तिमानी अन्तर्राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धर र मीरा राई उपस्थित हुने निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया 4