Comments Add Comment

प्रचण्डसँग वामदेवको प्रस्ताव- ओलीलाई सम्मानपूर्वक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

१३ फागुन, काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् ।

गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएको मियाले बताए । ‘वामदेव कमरेडको प्रस्तावमा प्रचण्ड कमरेड पनि सकारात्मक हुनुहुन्छ,’ उनले अनलाइनखबसँग भने, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ ।’

नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् । उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।

सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment