Comments Add Comment

‘शुत्र गते’पछि दीपक र मह जोडीको टिमअप होला ?

चलचित्र ‘शत्रु गते’मा हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी र दीपाश्री निरौलाले टिमअप गरे । यो चलचित्रले बक्स अफिसमा धमका मच्चायो । यो चलचित्र चलेपछि मह जोडीलाई राखेर निर्माता किरण केसीले ‘दाल भात तरकारी’ निर्माण गरे । यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका थिए ।

चलचित्रले बक्स अफिसमा लगानी उठाएपनि समिक्षागत रुपमा गाली पायो । यो चलचित्रमा पनि दीपक–दीपा र मह जोडीको टिमअपको चर्चा थियो । तर, नाफाको शेयरको बिषयमा कुरा नमिलेपछि उनीहरुले एकसाथ काम गरेनन् ।

अब, फेरि निर्देशक सुदन केसीले मह जोडी र दीपकराज गिरीको टिमअपको प्रयास थालेका छन् । सुदन यतिबेला नयाँ चलचित्रको तयारीमा छन् । यो चलचित्रको स्क्रिप्टमा काम भैरहेको सुदनले बताए । सुदनले अनलाइनखबरसँग भने–‘यसपटक कथा म आफैले लेखेको छु । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले काम गर्ने पक्का भैसकेको छ । चलचित्रमा दीपकराज गिरीसँग पनि कुरा भैरहेको छ ।’

कलाकार दीपकराज गिरीले चलचित्रका लागि एक चरणमा कुरा भएको बताए । उनले भने–‘मसँग एक चरणमा कुरा मात्र भएको हो । गर्ने वा नगर्ने केही फाइनल भएको छैन । मैले स्क्रिप्ट उत्कृष्ट भएपछि मात्र काम गर्छु भनेको छु । हेरौं, कथा कस्तो बन्छ ।’

चलचित्रको छायांकन वैशाखपछि सुरु गर्ने योजना सुदनको छ । सुदनले यसपटक आफूले केही फरक गर्ने बताएका छन् । चलचित्र ‘दाल भात तरकारी’बाट अपेक्षित प्रतिक्रिया नपाएपछि निर्माता किरण केसीका छोरा सुदन केसी यसपटक भने स्क्रिप्टमा मिहिनेत गरिरहेका छन् ।

मह जोडी र दीपकराज गिरीको टिमअप भएको खण्डमा यसले बक्स अफिसमा नयाँ उछाल ल्याउने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment