Comments Add Comment

दुर्घटनाग्रस्त ट्यांकरबाट तेल भर्दै गरेको भिडियो भाइरल

१३ फागुन, काठमाडौं । दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको डिजेल जर्किन तथा बोत्तलमा भर्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा दुर्घटनामा क्षतिग्रस्त भएर सडकमा लडिरहेको ट्यांकरमा निस्किएको पेट्रोलियम पदार्थ केही मानिसहरु बोत्तल तथा जर्किनमा डिजेल भरिरहेका देखिन्छन् ।

ट्यांकरको पछाडि पट्टीबाट बगिरहेको डिजेल भर्ने मध्येका एक बर्दी कै प्रहरी पनि छन् । उक्त भिडियो केही घण्टाअघि मात्रै दीपु राना नामको अकाउन्टबाट टिकटकमा पोष्ट भएको छ । भिडियोमा जोखिमपूर्ण रुपमा तेल भरिएको देखिन्छ ।

एक महिनाअघिको घटना

गत माघ १५ गते रोल्पा सदुमुकाम नजिकै भएको दुर्घटनाको भिडियो अहिले बल्ल सार्वजनिक भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तिमा ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेर दुर्घटनामा परेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए ।

‘एउटा घुम्तीबाट खसेर ट्यांकर अर्को घुम्तीमा आईपुगेको र दुर्घटनामा चालकको मृत्यु भएको थियो । भिडियो एक महिना अघिको होे,’ प्रजिअ रानाले भने ।

नेपालगञ्ज डिपोबाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक हरबजन सिंहको ज्यान गएको थियो भने सहचालक १९ वषिर्य सुनिल शंकर सामान्य घाइते भएका थिए ।

जोखिमपूर्ण काम

भाइरल भिडियोमा मानिसहरु हतार-हतार डिजेल भरिरहेका देखिन्छन् । त्यसरी डिजेल भरेको भिडियो प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

कुनै पनि दुर्घटना लगत्तै इन्धनको ट्यांकरबाट त्यसरी इन्धन भर्न अत्यन्तै जोखिमपूर्ण भएको निगमका प्रवक्ता विनित मणि उपाध्याय बताउँछन् ।

‘हामीले पनि ढिलै थाहा पायौं, यो घटना झण्डै एक महिना अघिको हो । त्यस्तो काम गर्नु अर्को दुर्घटना निम्त्याउनु हो,’ प्रवक्ता उपाध्यायले भने ।

प्रज्वलनशील डिजेलमा छिटो आगो सल्किने र त्यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्ने उनले बताए ।

डिजेल प्रज्वलनशील भएकै कारण यसलाई अनाधिकृत बिक्रीमा रोक लगाइएको तथा ट्यांकरमा अति प्रज्वलनशील पदार्थ भनि लेखेरै ढुवानी गरिने गरिएको उनको भनाइ छ ।

यस्ता सवारी साधन दुर्घटना लगत्तै सुरक्षा गर्नु पर्ने प्रहरी पनि तेल भर्न लाग्नु भने लज्जाको विषय भएको निगमले जनाएको छ ।

 

माघ १५ गते रोल्पा सदुमुकाम नजिक भदौरेमा भएको दुर्घटना पछिकाे दृश्य || onlinekhabar.com

यो दुर्घटना माघ १५ गते रोल्पा सदुमुकाम नजिक भदौरेमा भएको हो । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटना लगत्तै मानिसहरु उत्साहित भएर जर्कीन तथा बोत्तलमा डिजेल भरिरहेको भिडियोमा देखिन्छन् । यसरी डिजेल भर्दा ज्यानै जान सक्ने नेपाल आयल निगमले जनाएको छ ।

Posted by OnlineKhabar on Thursday, 25 February 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment