Comments Add Comment

‘हल अफ फेम’ सिजन-२ को फाइनल आज

काठमाडौं । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित र हिमालय टेलिभिजनमा प्रसारित अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम’ सिजन-२ सुखद् यात्रा पार गर्दै समापनको  चरणमा पुगेको छ ।

प्रतियोगिताका अडिसनदेखि विभिन्न चरणहरू पार गर्दै यो प्रतियोगिताको शनिबार राति विजेता घोषित हुँदैछन् ।

विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको यस प्रतियोगिताले मानिसहरूको पीडामा केही मात्रामा मल्हम लगाउने प्रयास गरेको थियो । विभिन्न देशका प्रतियोगिहरूले पठाएको अडियो क्लिपबाट छनौट गर्दै पहिलो चरणमा ५० जना प्रतिसपर्धीले प्रवेश पाएका थिए ।

५० जना प्रतिस्पर्धी विभिन्न ४ महादेशका रहेका थिए । अफ्रिका, एसिया, अष्ट्रेलिया सहित युरोपबाट समेत यस प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगीहरू जस्तै यस प्रतियोगितामा निर्णायकहरूले पनि अष्ट्रेलिया र नेपालबाट सहभागिता जनाएका छन् । नेपालबाट वरिष्ठ गायक दीप श्रेष्ठ र गायिका रजिना रिमालले निर्णायकको भूमिका निभाउँदा अष्ट्रेलियाबाट कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले यो भूमिका सम्हालेका छन् ।

विभिन्न १४ एपिसोड प्रसारण भएका यस प्रतियोगिताका हरेक एपिसोड विविध कारणले सम्झन लायक रहे । प्रतियोगिताको रोचक पक्ष भने युवा पुस्तासँगै बाल पुस्ताले पनि भाग लिनु रह्यो ।

अडिसन राउण्डको दोश्रो एपिसोडमा बिर्तामोड झापाका बालकले ’प्रसाद’ फिल्मको ’लै लै’ गीत गाए । उनले सबै निर्णायकहरूबाट ५-५ अंक गरी समग्रमा १५ अंक पाएका थिए । त्यस्तै, अडिसन राउण्ड अन्तर्गत तेस्रो एपिसोडमा हङकङबाट नामसाङ थापाले गीत गाएका थिए । प्रतियोगिताको चौथो एपिसोडमा अष्ट्रेलिया निवासी आँचल बस्यालको गायकीले पनि दर्शक तथा निर्णायकहरूको ध्यान खिचेको थियो ।

पाँचौ एपिसोडसम्म अडिसन राउण्ड भएको यस प्रतियोगितामा छैठौँ एपिसोडबाट भने च्यालेन्ज राउण्ड सुरू भयो । अडिसन राउण्डमा छानिएका ५० जनामध्येबाट च्यालेन्ज राउण्डका लागि २७ जना छनौट भएका थिए ।

च्यालेन्ज राउण्डमा पर्न सफल २७ जनालाई जम्मा ९ वटा समूहमा विभाजन गरिएको थियो । उनीहरूले ९ वटा गीतमा एक अर्कालाई च्यालेन्ज गरेका थिए । च्यालेन्ज राउण्डको पहिलो एपिसोडमा दर्पण रिजाल, गिरिजा खतिवडा र रोनिश श्रेष्ठले दीप श्रेष्ठको ’मेरो आखामा हरदिन’ गीत गाएका थिए । त्यस्तै, विजय सुनार, सन्दीप गहतराज र सञ्जीवनी महर्जनले रजिना रिमालको ’म मर्ने बेला तिमी चाहिँ आउनु’ गीत गाउँदा नामसाङ राई, दिनेश गुरूङ र सुरेन लिम्बुले ’हङकङ पोखरा’ गीत गाएका थिए ।

एमएनटीभी अष्ट्रेलियाका अध्यक्ष चन्द्र योन्जनले देश बाहिर रहेका नेपालीरुलाई जोड्ने एउटा कडी हल अफ फेम बन्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘महामारीको बेलामा विश्वभर छरिएर रहेका नेपाली प्रतिभाहरुलाई गुम्सिएर बस्नु नपरोस् भनेर हामीले यो कार्यक्रम सुरु गरेका थियौं । यसैले अनलाइनको माध्यमबाट नै भए पनि प्रतिभाहरुलाई अघि बढाउने हाम्रो सोच बन्यो । कार्यक्रमको सफलताले निकै खुशी छु ।’

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठको सञ्चालनमा अघि बढेको हल अफ फेम सिजन-२ मा पछिल्लो समय सुमन कार्कीको इन्ट्रीलाई पनि दर्शकहरुले औधि रुचाएको पाइएको छ ।

गायन प्रतिस्पर्धासँगै विभिन्न स्रष्टाहरूलाई सम्मान गर्दै अगाडि बढेको हल अफ फेमले ११औँ र १२औँ एपिसोडमा स्वर सम्राट स्वर्गीय नारायण गोपालको स्मरण गर्दै अघि बढेको थियो । उक्त एपिसोडमा ९ जना प्रतियोगीले नै स्वरसम्राटका कालजयी गीतहरुमा आफ्नो आवाज भर्ने प्रयास गरे ।

निर्णायकमध्येका एक गायक विवेक श्रेष्ठले हल अफ फेमको मुख्य उद्देश्य नै प्रतिभा प्रोत्साहन र अज्रजहरुको सम्मान भएको प्रतिक्रिया दिए । उनले रञ्जित गजमेरलाई कार्यक्रममा निम्त्याउँदाको स्मरण गर्दै भने, ‘हाम्रा अग्रजहरुले कोरिदिएको बाटोमा नै हामी अघि बढेका छौं ।’

हल अफ फेमको निर्माणमा पूर्णत व्यवसायिक र अनुभवी नेपाली प्राविधिक र सिर्जनात्मक हातहरुको साथ थियो । कार्यक्रमका नेपाल संयोजक अभिमन्यु देवकोटा निर्माणको यो यात्रा चुनौतीपूर्ण र उतारचढावपूर्ण भए पनि फाइनल तहबाट फर्किएर हेर्दा रोमाञ्चक लागेको प्रतिक्रिया दिन्छन् ।

अन्तिम ६ जना चुनिइसकेपछि प्रतियोगितामा उपाधिका लागि टिका मगर, पूर्ण विक र विजय सुनारले अन्तिम ३ मा स्थान बनाउन सफल भएका छन् । अब उनीहरू तीन जनाले नै ’हल अफ फेम-२’को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । हल अफ फेम सिजन-२ को उपाधि विजेता थाहा पाउन भने शनिबार राति नेपाली समय अनुसार ८ बजे हिमालय टेलिभिजन वा एमएनटीभी अष्ट्रेलियाका डिजिटल प्लेटफर्महरुमा हेर्नुपर्नेछ ।

एमएनटीभी अष्ट्रेलियाका प्रधान सम्पादक एवं ‘हल अफ फेम’ सिजन-२ का प्रमुख कार्यकारी निर्माता चिरञ्जीवी देवकोटाले यस प्रतियोगितामा प्रथम हुनेले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गर्ने बताए ।

यो प्याकेजमा एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ, फोटोसेसनसहित प्रबर्धनका कार्यक्रमहरु समेटिएको छ । त्यस्तै, यस प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्रथम हुनेले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment