Comments Add Comment

भ्रष्टाचार नियन्त्रणमा अहिलेसम्मै उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई

१५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताएका छन् ।
घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् ।

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

‘नागरिक समाज र जनताले भ्रष्ट्राचारलाई नियन्त्रण गर्नुपर्‍याे भनिरहेका छन् । यहाँ धेरै भ्रष्टाचार व्याप्त छ भन्ने आवाज उठाइराख्नु भएको छ,’ उनले भने, ‘त्यो आवाजलाई मेरो कार्यकालमा विगतमाभन्दा प्रभावकारी ढंगले लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने बताए । ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन,’ उनले थपे, ‘तर निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।’

आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने प्रमुख आयुक्त राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment